
काठमाडौं ।
नेपालमा डिजिटल बैंकिङ्गको सेवा र पूर्वाधारमा पछिल्लो वर्षमा उल्लेखनिय सुधार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले वित्तीय क्षेत्रको स्रोत परिचालन विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश पूर्वाधार र सेवाहरु बागमती प्रदेशमा मात्र थुप्रिएको बताएको हो।
अध्ययन प्रतिवेदनकाअनुसार देशभर २७.९ हजार पोस/पिओएस टर्मिनल (POS Terminal) हरु भएको मध्ये बागमती प्रदेशमा मात्र एक्लै ७१ प्रतिशत रहेको छ।
त्यसैगरी सबैभन्दा थोरै पिओएस टर्मिनल भएको प्रदेश कर्णाली भएको छ जहाँ केबल ०.८ प्रतिशत मात्र टर्मिनल छ भने त्यसपछि कम हुनेमा सुदुरपश्चिम प्रदेश छ जहाँ २.४ प्रतिशत पिओएस टर्मिनलहरु छन्।
तथ्यांकअनुसार बागमतीपछि गण्डकी प्रदेशमा ५.६ प्रतिशत, प्रदेश १ मा ४.९ प्रतिशत, र लुम्बिनीमा ३.९ प्रतिशत रहेका छन् ।
सन् २०२१ को मध्य जनवरीसम्म प्रति पिओएस टर्मिनलमा १०९० मानिसहरुले प्रयोग गरिरहेका थिए जसमध्ये सबैभन्दा कम प्रति पिओएस प्रयोगकर्ता ३३० बागमती प्रदेशमा छन भने सबैभन्दा धेरै प्रति पिओएस टर्मिनल १० हजार मानिसको आधारमा कर्णाली प्रदेश रहेको छ।
सार्वजनिक प्रतिवेदनअनुसार अन्य वित्तीय सेवा तथा पूर्वाधारहरु समेत सबैभन्दा धेरै बागमती प्रदेशमा केन्द्रित रहेको देखिन्छ।
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार