
काठमाडौं ।
स्मार्ट टेलिकम प्रालिको वर्तमान आर्थिक अवस्थाको बारेमा अध्ययन गर्ने परामर्शदाता कम्पनीले आफ्नो प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ।
यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई मन्त्रिपरिषदको निर्णयअनुसार आफ्नो अधिनमा लिनका लागि प्रकृया शुरु गर्न कम्पनीको वर्तमान आर्थिक अवस्थाको बारेमा अध्ययन गराउने निर्णय गरेको थियो ।सरकारी बाँकी बक्यौता तिर्न नसकेको भन्दै प्राधिकरणको सिफारिसमा सरकारले आफ्नो अधिनमा लिनका लागि प्रकृया शुरु गरेको थियो।
सोहि अनुसार प्राधिकरणले स्वतन्त्र परामर्शदातामार्फत स्मार्ट टेलिकमको हालको आर्थिक अवस्थाको बारेमा बिस्तृत प्रतिवेदन तयार पार्नका लागि प्रतिक खनाल एण्ड कम्पनीलाई नियुक्त गरेको थियो।
सो परामर्शदाताले दूरसञ्चार प्राधिकरणमा आफ्नो प्रतिवेदन पेश गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
“प्राधिकरणले स्मार्ट टेलिकमको वर्तमान आर्थिक अवस्थाको बारेमा अध्ययन गराउन परामर्शदाता तोकेको थियो। सो परामर्शदाताले हालै प्रतिवेदन बुझाएको छ,” उनले टेक्नोलोजीखबरसँग भने।
उनकाअनुसार सो प्रतिवेदन प्राधिकरणले कात्तिक मसान्तभित्र सरकारलाई बुझाउनेछ। सोही प्रतिवेदनको आधारमा सरकारले स्मार्ट टेलिकमलाई कसरी अधिनमा लिने र कति मूल्यांकन गर्ने भन्ने निर्णय गर्नेछ।
यसअघि मन्त्रिपरिषदले स्मार्ट टेलिकमलाई यहि पुस मसान्तसम्मको म्याद दिँदै सो समयभित्र सरकारलाई बुझाउनुपर्ने बाँकी बक्यौता रकम तिर्न भनेको थियो।
दोस्रो पटक थप गरिएको समय अवधि भित्र रकम नतिरेको खण्डमा स्मार्ट टेलिकमलाई सरकारले अधिनमा लिनका लागि कानून बनाउन र त्यसको लागि अध्ययन गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।
सरकारले स्मार्ट टेलिकमको आर्थिक विश्लेषण गरेर कात्तिक मसान्तभित्रै सरकारलाई प्रतिवेदन बुझाउन समेत प्राधिकरणलाई निर्देशन दिएको थियो।त्यसैगरि स्मार्ट टेलिकमको सेवा अवरुद्ध नहुने गरि कामहरु समेत गर्न निर्देशन दिएको थियो।
सम्बन्धित समाचार-
स्मार्ट टेलिकमको आर्थिक अवस्था विश्लेषण गरेर प्रतिवेदन बुझाउन नियामकलाई सरकारको निर्देशन
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार