
काठमाडौं ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीलगायत जिल्लाका सबैजसो स्थानमा नेपाल टेलिकमको सेवा प्रभावकारी नुहँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । नेपाल टेलिकमका सेवाहरू इन्टरनेट तथा टेलिफोनको नेटवर्कमा सधैँजसो समस्या हुँदा उपभोक्ताले हैरान भएको गुनासो गरेका छन् ।
सदरमुकाममा सञ्चालित एडिएसएल तथा फोरजी इन्टरनेट सेवाले काम नगर्दा इन्टरनेटको माध्यमबाट काम गर्नेका लागि समस्या भएको बताइएको छ । सदरमुकाममा इन्टरनेटले व्यवसायीलाई हैरान बनाएको छ भने इन्टरनेटबाट प्रदान गरिने विभिन्न कार्यालयबाट सेवा लिन जनतालाई धेरै समय लाग्ने गरेको छ।
एक जना सञ्चारकर्मी अनुज खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै टेलिकमले फोरजीको नाटक गरेर सिधा जनता लुट्ने काम गरिरहेको गुनासो गरेका छन्। त्यस्तै, सोताङ गाउँपालिकाका हिरा नाछिरिङले पनि सेवा बिनाको फोरजी सञ्चालन गरेर जनतालाई हैरानी बनाएको बताईन्।
लामो समयदेखि जिल्लाभरिको नेटवर्कले राम्रो काम नगर्दा सेवा भन्दा सास्ती बढी भएको गुनासो आइरहेको छ । नेटवर्कमा समस्या हुँदा अत्यावश्यक काम पर्दा वा विपत आइपर्दासमेत सम्पर्क गर्न सम्भव नहुने नेचा सल्यान गाउँपालिका– १ का सुवास राउतले बताए ।
माथिल्लो क्षेत्रको पर्यटकीय क्षेत्रमा पनि सेवा उस्तै रहेको गुनासो छ । सेवाका बारेमा नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख मोहम्मद अकबर अलीले भने कहिलेकाँही सिस्टममा समस्या आउने गरेकोले यस्तो भएको र आफूले सम्बन्धित निकायमा जानकारी गराएको भन्दै हल्का रूपमा लिए।
सोलुखुम्बुका जनताले कामै नलाग्ने सेवा भएको गुनासो गरिरहेका छन् । टेलिकम प्रमुखले उचित व्यवस्थापन नगर्दा विगत लामो समयदेखि सदरमुकामको इन्टरनेट र गाउँ गाउँमा राखिएको फोरजीले गुणस्तरीय काम नगरेको स्थानीयको आरोप छ ।
इन्टरनेट सेवा गुणस्तरहीन हुँदा महँगोमा निजी कम्पनीको सेवा लिनुपरेको गुनासो छ । अझ गाउँमा राखिएका फोरजीको टावरले काम नगर्दा समस्या भएको छ। गोरखापत्र
प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार