नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषतासम्बन्धी तीन दिने अनुशिक्षण

  • Technology Khabar | १० कार्तिक २०७८, बुधबार
नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषतासम्बन्धी तीन दिने अनुशिक्षण

काठमाडौं ।

नेपाल प्रहरी प्रधान कार्यालयले ‘नेपाल प्रहरी मोबाइल एप’ को प्रयोग तथा विशेषतासम्बन्धी तीन दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार समापन भएको उक्त कार्यक्रम प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवश्रोत एवं प्रशासन विभागको सुपरिवेक्षण तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा भएको थियो।

अनुशिक्षणका क्रममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की, कार्य निर्देशनालयका प्रहरी नायब महानिरीक्षक रविन्द्र बहादुर धानुक तथा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा लगायतले एपका विशेषताका बारेमा जानकारी दिएका थिए।

तीन दिनको भर्चुअल कार्यक्रममा महानगरीय प्रहरी कार्यालय अन्तर्गतका ३ वटै प्रहरी परिसर, मेट्रो कन्ट्रोल, ७ वटै प्रदेश प्रहरी कार्यालय, ७ वटै संघीय प्रहरी ईकाई कार्यालय तथा सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरु, सूचना अधिकृतहरु, प्रहरी परिचालन कक्षहरुका प्रमुखहरु एवं ड्युटी अफिसर र घटनासम्बन्धी विवरण तथा अभिलेख व्यवस्थापनमा खटिएका जम्मा ८ सय ६५ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण दिइएको प्रहरीको भनाइ छ।

उक्त मोबाइल एपमार्फत् सर्वसाधारणले प्रहरीसँग सम्बन्धित सूचनाहरु जीआईएस अर्थात जिओग्राफिकल इन्फर्मेसन सिस्टममा आधारित भएर उपलब्ध सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले यो मोबाइल एप २०७५/७६ मा प्रहरीको आन्तरिक प्रयोजनका लागि तथा आम नागरिकहरुले प्रहरीसँग सम्बन्धित घटना तथा अन्य जानकारी गराउन सक्ने प्रावधान सहित विकास गरेको थियो।

नेपाल प्रहरीको आन्तरिक प्रयोजन अन्तर्गत यस प्रणाली मार्फत ईन्ट्रानेट पोर्टल (Nepol.cd), PMIS profile, Geo-attendence, Police Calendar, GPS Tracker, Patrolling जस्ता सुविधाहरु रहेका बताइएको छ ।

सर्वसाधारणका लागि Report incident/Public Eye मार्फत आफू पीडित भएको अवस्थामा वा कुनै घटनाको प्रत्यक्षदर्शी भएको बेला प्रहरीलाई स्थान सहितको सूचना प्रदान गर्ने प्रावधान राखिएको छ।

यसबाहेक Panic Mode अन्तर्गत आकस्मिक रुपमा प्रहरीबाट सहयोग चाहिएको खण्डमा उक्त फिचर इनेबल गरे लगत्तै प्रहरीमा उक्त व्यक्तिको सम्पर्क नम्बर तथा स्थानसहितको सूचना पुग्ने हुनाले प्रहरी परिचालनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १० कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार