
काठमाडौं ।
अमेरिकी सरकारले आफ्ना संस्थाहरुमा साइबर हमला गर्नुमा सोलरवाइन्ड्स ह्याकिङमा संलग्न रुसी ह्याकर समूहमाथि आरोप लगाएको छ।
गत वर्ष अमेरिकाका थुप्रै निजी संस्थाहरुमा ह्याकर समूहहरुले साइबर हमला गरेको र यसमार्फत् वैश्विक आपूर्ति श्रृङ्खलालाई नै बिगार्नका लागि लागि परेको माइक्रोसफ्टका साइबर सुरक्षा विज्ञहरुले आरोप लगाएका छन्।
नोबेलियम नाम गरेको उक्त ह्याकर समूह कुख्यात सोलरवाइन्ड्स ह्याकमा संलग्न रहेकोले चर्चित छ।
गत सोमबार माइक्रोसफ्टको कस्टमर सेक्युरिटी एन्ड ट्रस्टका कर्पोरेट उपाध्यक्ष टम बर्टले नोबेलियमले यसअघि वैश्विक आईटी आपूर्ति श्रृङ्खलासँग सम्बन्धित संस्थाहरुमाथि लक्षित गरेर गरेका ह्याकिङ हमलाहरुको इतिहास फेरि दोहोर्याउन खोजेको आरोप लगाएका छन्।
माइक्रोसफ्टले नोबेलियमको पछिल्लो अभियानका बारेमा गत मे देखि निगरानी गर्दै आएको छ। बर्टका अनुसार माइक्रोसफ्टले यस हमलाबाट प्रभावित साझेदार तथा उपभोक्ताहरुलाई जानकारी दिइसकिएको बताएका छन्।
माइक्रोसफ्टले यसका लागि अमेरिकी तथा यूरोपेली सरकारी संस्थाहरुसँग मिलेर काम गरिरहेको छ।
‘हालको गतिविधि रुसले प्रविधि आपूर्ति श्रृङ्खलाका विविध पाटाहरुमा दीर्घकालीन तथा प्रणालीबद्ध पहुँच प्राप्त गर्न तथा रुसी सरकारको फाइदाका लागि ढिलोचाँडो निगरानी प्रणाली स्थापना गर्न लागिपरेको अर्को संकेत हो’, बर्टले लेखेका छन्।
प्रकाशित: १० कार्तिक २०७८, बुधबार