
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक मास्टरकार्डले आफ्ना नेटवर्कमा भएका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबार गर्न इजाजत दिने भएको छ।
हालै कम्पनीले बाक्त नामक क्रिप्टोकरेन्सी संस्थासँग सम्झोता गरी आफ्ना भुक्तानी नेटवर्कमा भएका मर्चेन्ट तथा बैंकहरुलाई क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी गर्न सक्ने विकल्प उपलब्ध गराउन लागेको बताइएको छ।
सबैभन्दा पहिले सीएनबीसीमा आएको यो समाचार अनुसार मास्टरकार्डको विश्वभरमा रहेको भुक्तानी नेटवर्कमा डेबिट तथा क्रेडिट कार्ड क्रिप्टोकरेन्सी रिवार्ड दिने भएको छ।
हवाइ टिकट तथा होटल बुकिङमार्फत् पाइने यस्ता रिवार्ड प्वाइन्टहरु क्रिप्टोकरेन्सीमा लिन पाइनेछ।
उपभोक्ताले आफ्ना जम्मा भएका क्रिप्टो बाक्तको प्लेटफर्ममा रहेको वालेटमार्फत् सामान किन्न वा डिजिटल सम्पत्तिका रुपमा जम्मा गरिरहन सक्नेछन्।
मास्टरकार्डले यस अघि यसै वर्ष आफ्ना कार्ड लिएकाहरुलाई आफ्नो नेटवर्कभित्र निश्चित क्रिप्टोकरेन्सीमा कारोबार गर्न दिने बताएको थियो। गत जुलाइमा क्रिप्टोकरेन्सीको प्रयोग सकेसम्म धेरै उपभोक्तामाझ पुर्याउन कम्पनीले क्रिप्टो तथा डिजिटल सम्पत्ति स्टार्टअपसँग सम्झोता गर्न लागेको बताएको थियो।
हालै भएको बाक्तसँगको सम्झोतापछि अक्टोबर १८ मा न्यूयोर्क स्टक एक्स्चेन्जमा कारोबार पनि भइसकेको छ। यसले क्रिप्टोकरेन्सीको पहुँच तथा प्रयोगमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार हाल उसको भुक्तानी नेटवर्कमा २ अर्ब ८० करोड सक्रिय मास्टरकार्डहरु तथा २२ हजार बैंकहरु रहेका छन्।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार