
काठमाडौं ।
फेसबुकका अर्का पूर्व कर्मचारीले सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा कम्पनीविरुद्ध ‘ह्विशलब्लोअर’ उजुरी दर्ता गरेका छन्।
द वाशिङ्टन पोस्टले लेखेको समाचार अनुसार उक्त पछिल्लो उजुरीमा फेसबुकमाथि लगानीकर्ताहरुलाई फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जर प्लेटफर्ममा हुने गरेका हानिकारक तथा आपराधिक क्रियाकलापका बारेमा गुमराहमा राखेको आरोप लगाइएको छ।
उजुरीमा ती पूर्व कर्मचारीले फेसबुकका एक वरिष्ठ सञ्चार कार्यकारीसँगको कुराकानीको वर्णन गर्दै सन् २०१६ को चुनावका बेला रुसले एउटा प्लेटफर्म प्रयोग गरेको र त्यसबापत् कम्पनीले अथाह रकम आर्जन गरेको उल्लेख गरेमा छन्।
पहिलोपटक फेसबुकका गोप्य दस्तावेज बाहिर ल्याउँदै कम्पनीमाथि विभिन्न आरोप लगाएकी फ्रान्सेस होगन झैं यी ह्विशलब्लोअर पनि फेसबुकको इन्टेग्रिटी टिमका सदस्य थिए।
उक्त टोलीको काम कम्पनीले भोगिरहेका भ्रामक सूचना लगायतका थुप्रै मुख्य समस्याहरु समाधानका क्षेत्रमा काम गर्ने गर्थ्यो।
होगनले झै यी नयाँ उजुरीकर्ताले पनि कम्पनीले तत्कालीन राष्ट्रपति ट्रम्प तथा उनका राजनीतिक गुट रिसाउने वा बढिरहेका यूजरहरुको सङ्ख्या उल्लेख्य रुपमा घट्ने डरले भ्रामक सूचना, घृणायुक्त मन्तव्य तथा अन्य समस्या कम गर्ने प्रयासलाई नजरअन्दाज गरेको आरोप लगाएका छन्।
सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन एसईसीमा दर्ता गरिएको उजुरीमा पनि फेसबुक ग्रुपमा अवैध क्रियाकलाप हुने तथा उसको राजनीतिकलगायत अन्य उच्च पदस्थ व्यक्तिहरु नियममा छुट दिने गरेको उल्लेख छ।
पत्रमा मार्क जुकरबर्ग तथा शेरिल स्यान्डबर्गलाई यी सबै समस्याबारे थाहा भए पनि लगानीकर्ताहरुसँग लुकाएको आरफल लगाइएको द पोस्टले जनाएको छ।
यो नयाँ उजुरीले फेसबुकको तनाव अझ बढाएको बताइएको छ। कम्पनीले गत महिना होगनका आरोप मिथ्या रहेको र आफ्ना अनुसन्धान सही रहेको प्रमाणित गर्न निकै समय खर्च गरेको थियो।
यसैबीच कानून निर्माताहरुले जुकरबर्गलाई कंग्रेसको प्रश्नको जवाफ दिन बोलाएको र होगनले भने यूरोपर्ली अधिकारीहरुलाई आफ्ना आरोपका बारेमा प्रस्ट पार्ने बताइएको छ।
प्रकाशित: ७ कार्तिक २०७८, आईतवार