
काठमाडौं ।
मार्केटिङ तथा ब्रान्डिङ क्षेत्रका विज्ञहरुले फेसबुकले आफनो नाम परिवर्तन गरे पनि यसका सामाजिक सञ्जालले निम्त्याएका सम्भाव्य जोखिमका बारेमा सर्वसाधारणको धारणा तथा नियामकको नजरबाट ओझेल हुन नसक्ने बताएका छन्।
द भर्जले बिहीबार जारी गरेको एक रिपोर्टमा फेसबुकले केही समययता खेप्नुपरेको आलोचनाबाट आफूलाई जोगाउन आफ्नो कर्पोरेट ब्रान्डिङ नै परिवर्तन गर्न लागेको उल्लेख छ।
फेसबुक अन्तर्गत हाल सामाजिक सञ्जाल फेसबुक बाहेक इन्स्टाग्राम, ह्वाट्सएप तथा ओक्युलसजस्ता अन्य एपहरु पनि रहेका छन्।
यो रिपोर्टका बारेमा बुझ्न खोज्दा कम्पनीले कुनै प्रतिक्रिया नजनाएको तथा यो समाचारकै बारेमा पनि तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।
केही हप्ताअघि कम्पनीकै पूर्व कर्मचारीले फेसबुकका बारेमा विभिन्न गोप्य विवरणहरु बाहिर ल्याएपछि सार्वजनिक रुपमा आलोचना खेपिरहेको छ।
अमेरिकी सिनेटले यसै महिनाको शुरुवातमा इन्स्टाग्रामले युवायुवतीमा पारेको नकारात्मक प्रभावका बारेमा सुनुवाइ गरेको थियो।
‘विधायक तथा राजनीतिज्ञहरु रिब्रान्डिङका माध्यमबाट मूर्ख बनाउन सकिने खालका छैनन्,’ एटलान्टिक इक्विटिज नामक संस्थामा इन्टरनेट विश्लेषकका रुपमा रहेका जेम्स कर्डवेलले भने।
नयाँ नाम दिनुले कुनै पनि कम्पनीलाई आफ्ना मातहतका ब्रान्ड व्यवस्थापन गर्न सजिलो हुने भए पनि नियामकहरुले अनुसन्धान तथा जाँच पड्ताल गर्न भने नछोड्ने ब्रान्डिङ तथा मार्केटिङ कन्सल्टेन्सी प्रोफेटकी ब्रान्ड तथा एक्टिभेशन प्रमुख मरिसा मल्भिहिलले भनिन्।
प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार