
काठमाडौं ।
गत वर्षको पहिलो ब्याचको राष्ट्रियस्तरको कोडिङ फेलोशिपको सफलतापछि कोड रशले त्यसैको दोस्रो संस्करण कोड लाइक हर फेलोशिप २०२१ आयोजना गर्ने भएको छ।
कोरोनाका कारण गत वर्ष भर्चुअल माध्यमबाट गरिएको यो तालिम कार्यक्रम यसपटक पनि भर्चुअल माध्यमबाटै गरिने बुझिएको छ।
हालसालै सूचना प्रविधि तथा इन्जिनीयरिङ सकेकाहरुलाई उद्योगमा आधारित तालिम प्रदान गर्ने उद्देश्यले यो फेलोशिप कोड रशले किना नामक संस्थासँग मिलेर आयोजना गर्न लागेको हो।
कोड रश महिला कर्मचारीहरुमार्फत् परामर्श, वेबसाइट निर्माण तथा डिजिटल मार्केटिङका माध्यमबाट अन्य व्यापार/व्यवसायको डिजिटल रुपान्तरणका लागि सहयोग गर्ने उद्देश्यले महिलाहरुले सञ्चालन गरेको सूचना प्रविधि कम्पनी हो।
यस अघिको पहिलो फेलोशिपमा देशभरबाट १६ जना छनोट गरिएको र तीमध्ये अधिकांश नेपालका स्थापित कम्पनीहरुमा सफ्टवयर इन्जिनीयरका रुपमा कार्यरत रहेको कोड रशले जनाएको छ।
कम्पनीका संस्थापक तथा सीईओ आस्था शर्माले इन्जिनियरिङ तथा सूचना प्रविधिका क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गए पनि जागिर तथा बिहे लगायतका कारणबाट धेरैजसोले पढाइ अनुसारको काम गर्न नसकिरहेको देखिएकाले यो प्रवृत्तिलाई रोक्न महिलाहरुलाई शुरुबाटै यस प्रकारको तालिममार्फत् सम्बन्धित क्षेत्रमै कामको अवसर जुटाउने संस्थाको मुख्य उद्देश्य रहेको बताइन्।
यो फेलोशिप १२ डिसेम्बर २०२१ बाट शुरु हुने र हप्ताको ३० घण्टा चल्ने बताइएको छ।
जम्मा ४ महिनासम्म चल्ने यो तालिममा १८ जना सहभागी रहने र उनीहरु हालसालै सूचना प्रविधि, इन्जिनीयरिङ जस्ता विषय पूरा गरेका महिलाहरु हुने संस्थाले बताएको छ। यसका लागि आवेदन दिने अन्तिम मिति २१ अक्टोबर २०२१ अर्थात् कार्तिक ४ गते बुधबारसम्म रहेको छ।
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार