
काठमाडौं ।
क्रिप्टोकरेन्सी ट्र्याकर क्वाइनमार्केट क्यापका अनुसार विश्वको समग्र क्रिप्टोकरेन्सीको बजार पुँजीको आँकडा २५ खर्ब डलर पुगेको छ।
यो आँकडा विश्वकै सबैभन्दा बढी मूल्यांकन भएको क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य क्वाइनस्विच कुबेर नामक भारतीय सटही बजारमा ६५ हजार डलर तथा अन्तरराष्ट्रिय बजारमा ६२ हजार डलरभन्दा माथि पुगेको बेला आएको हो।
यो मूल्यांकनपछि विश्वको क्रिप्टोकरेन्सीले बजार क्यापका हिसाबले एप्पल तथा माइक्रोसफ्टलाई उछिनेको छ।
एप्पलको मूल्यांकन २३ खर्ब ९० अर्ब तथा माइक्रोसफ्टको भने खर्ब ८० अर्ब गरिएको छ।
एप्पलको मूल्यांकन २३ खर्ब ९० अर्ब तथा माइक्रोसफ्टको भने खर्ब ८० अर्ब गरिएको छ।
सन् २०२१ को शुरुवातमा क्रिप्टोकरेन्सीको समग्र बजार पुँजीकरण ८ खर्ब ३० अर्ब भएको थियो भने त्यसयता यो मूल्यांकनमा २३३ प्रतिशतको वृद्धि भएको देखिएको छ।
क्वाइनमार्केटक्याप नामक तथ्यांक संस्थाको पछिल्लो तथ्यांकअनुसार बिटक्वाइन, इथेरियम, बाइनान्स क्वाइन तथा कार्डानो हाल विश्वमै चर्चित क्रिप्टो टोकनमा रुपमा रहेका छन्।
रिपोर्टहरुले बजारमा अन्य वैकल्पिक मुद्राहरुको स्थानमा बिटक्वाइनले प्रभावकारी भूमिका खेलेको पनि देखाएका छन्। बिटक्वाइनको हालको मूल्यांकनले क्रिप्टो बजारको समग्र क्यापको ४५ प्रतिशत हिस्सा ओगट्ने क्वाइनअनाउन्स डट कमले जनाएको छ।
समग्र बजार क्यापमा इथेरियमको हिस्सा १७ प्रतिशत रहेको छ भने उसको समग्र मूल्यांकन ४ खर्ब ५८ अर्ब डलर छ।
चीन तथा रुसलगायतका थुप्रै देशले क्रिप्टोकरेन्सीलाई अवैधानिक मानिरहँदा पनि यसको बजार क्याप भने तीव्र रुपमा बढिरहेको छ।
अघिल्लो महिना क्रिप्टो समर्थक खर्बपति इलन मस्कले यी भर्चुअल मुद्राहरु नमासिने भएले वृद्धि अपरिहार्य रहेको बताएका थिए।
मार्क क्युबनलगायतका थुप्रै लगानीकर्ताहरुले पनि बिटक्वाइनलाई आधुनिक जमानाको सुन भएको अभिव्यक्ति दिएका छन्।
हाल भियतनाम, भारत तथा पाकिस्तान लगायतका एसियाली मुलुकहरु क्रिप्टोकरेन्सीको सम्भावना बोकेका ठूला देशका रुपमा उदाइरहेका पाइएको छ।
सन् २०२१ को जुनसम्मको १२ महिनामा क्रिप्टोकरेन्सी बजार मध्य तथा दक्षिण एसिया तथा ओसियनिया क्षेत्रमा मात्रै ७०६ प्रतिशतले वृद्धि भएर ५ खर्ब ७२ अर्ब डलर बराबरको मूल्यांकनमा पुगेको बजार अनुसन्धान संस्था चेनालिसिसले उललेख गरेको छ।
भारतीय व्यापार संघ नास्कमले पनि आगामी ५ वर्षमा क्रिप्टोकरेन्सी बजार अथाह रुपमा वृद्धि हुने प्रक्षेपण गरेको छ।
स्मरण रहोस्, नेपालमा भने क्रिप्टोकरेन्सी सम्बन्धी कुनै पनि गतिविधिलाई सरकारले अवैध घोषणा गरेको छ।
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार