वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा सञ्चार सम्पर्क बिच्छेद

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा सञ्चार सम्पर्क बिच्छेद

काठमाडौं ।

आइतबारदेखि परेको लगातारको वर्षाले पारेको प्रभावले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सम्पर्कविहीन भएका छन् ।

कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी ट्रान्समिसन लाइनमा सल्लाको रुख ढल्दा पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ।

एकातिर विद्युत अवरुद्ध हुनु अर्कोतिर खानीडाँडामै विद्युत प्राधिकरणको पोल मार्फत लगिएको नेपाल टेलिकमको फाइवर लिंक (एडीएसएस) पनि टुटेपछि पहाडी जिल्ला सञ्चार र विद्युतका दुईवटै सेवाबाट वञ्चित छन् ।

१३२ केभी प्रसारण लाइन तत्काल बन्दैन त्यसैले ३३ केभीबाट पहाडी क्षेत्रलाई बिजुली सेवा दिने प्रयासमा रहको नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रादेशिक प्रमुख जङ्गबहादुर चन्दले बताएका छन्। १३२ केभी प्रसारण लाइनमा सोमबार साँझदेखि समस्या आएको हो।

नेपाल टेलिकमका सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियका प्रमुख नामाकर न्यौपानेले काठमाडौ र पहाडी क्षेत्रको ट्रंक लिंक टुटेकोले पहाडी क्षेत्रको फोन र इन्टरनेट सेवा मङ्गलबार बिहानैदेखि अवरुद्ध भएको जानकारी दिएका छन्। उनकाअनुसार भासु भीरमा पहिरो गएकोले सो लिंक जोड्न नसकिएको हो।

टेलिफोन र विजुली नहुँदा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला सम्पर्कविहीन भएका छन् ।

ती जिल्लाको सम्पर्क टुट्दा सेती, महाकाली लगायतका साना ठूला नदी र पहिरोले पारेको क्षतिको विवरण प्राप्त हुनसकेको छैन्।डोटीको दिपायलमा भने सेती नदीले पुल छुन थालेको समाचार आइरहेको छ। तर सञ्चार सम्पर्क टुट्दा सेती नदीको प्रभाव बारे सरकारी निकायको भनाइ आउन सकेको छैन्।

यसैबिच दुई दिनदेखिको वर्षातका कारण डोटीमा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ।

विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चारका साधन पनि अवरुद्ध भएका छन्। एनसेलको सिमकार्ड भने सञ्चालनमा छ। विद्युत् नभएका कारण नेपाल टेलिकमका ल्यान्डलाइन तथा एफटिटिएच सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार