अमेरिकामा ईभी ब्याट्रीको अभाव सन् २०२५ सम्म रहने फोर्डको साझेदार एसके इनोभेशनको प्रक्षेपण

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
अमेरिकामा ईभी ब्याट्रीको अभाव सन् २०२५ सम्म रहने फोर्डको साझेदार एसके इनोभेशनको प्रक्षेपण

काठमाडौं ।

फोर्ड मोटर कम्पनीको ब्याट्री साझेदार कोरियाको एसके इनोभेसनले अमेरिकाको सवारी उद्योगले सन् २०२५ सम्म ब्याट्री अभावको समस्या भोग्नुपर्ने बताएको छ।

उत्पादन फ्यासिलिटी निर्माणमा थुप्रै समय लाग्ने भएकाले यस्तो हुनसक्ने एसकेका उच्च पदस्थ कार्यकारीहरुले रोयटर्सलाई बताएका हुन्।

एसके इनोभेशनको ब्याट्री इकाइ एसके अन ले पनि लिथियम आइरन फोस्फेट ब्याट्री विकास गर्नेतर्फ सोचिरहेको बुझिएको छ। यी ब्याट्रीहरुले रेन्ज कम दिने भएता पनि मूल्य र थर्मल स्थायित्वका हिसाबले फाइदजनक रहेका बुझिएको छ।

यो जानकारी एसके इनोभेशनका सीईओ किम जुन र एसके अनका सीईओ जी दोङ सियोबले दिएका हुन्।

विद्युतीय सवारीका लागि सबैभन्दा बढी महत्वपूर्ण ब्याट्रीको अभावले विद्युतीय सवारीको उत्पादन बढाएर देशको ब्याट्री सेल, पार्टपुर्जा तथा अन्य सामग्रीको आयात घटाउने लक्ष्य राखेको बाइडेनको प्रशासनलाई निकै अप्ठेरोमा पारेको छ।

‘हाल अमेरिकाको ब्याट्री क्षमता मागका तुलनामा निकै कम छ। माग धान्नका लागि फ्याक्ट्री स्थापना गर्दा ३० महिनाको समय लाग्ने भएकाले सन् २०२५ सम्म ब्याट्रीको अभाव हुने मेरो मान्यता छ’, किमले भने।

उनले स्थानीयस्तरमा ब्याट्री सेल आपूर्ति गर्न, फ्याक्ट्रीको स्थान चयन गर्न तथा संरचना निर्माण र उत्पादनको परीक्षणमा यति समय लाग्ने प्रस्ट पारे।

फोर्ड तथा एसके अनले अमेरिकामा ३ ओटा फ्याक्ट्री स्थापना गर्न जनही ४ अर्ब ४५ करोड डलर लगानी गर्ने योजना बनाएको र यिनीहरुबाट सन् २०२५ देखि मात्र उत्पादन शुरु हुने बुझिएको छ।

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १९ आश्विन २०७८, मंगलवार