
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अफिस अटोमेसनलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ। मन्त्रालयले हाल परीक्षण गरीरहेको अटोमेसनलाई नयाँ सञ्चार मन्त्रीको आगमनसँगै पूर्णरुपमा कार्यान्वयन ल्याउने भएको हो।
यसको लागि अफिस अटोमेसनको प्रकृया र परीक्षण सफल भएको र त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याईने मन्त्रालयका सहसचिव अनिल दत्तले बताए ।
“हामीले अफिस अटोमेसनलाई सफल परीक्षण गरेका छौं र अब पूर्णरुपमा कार्यान्वयन हुनेछ,” उनले भने ।
अफिस अटोमेसनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि मन्त्रालयले सबै अधिकृतहरुका लागि डिजिटल सिग्नेचर समेत उपलब्ध गराईरकेकोछ। जसमार्फत अब कम्प्युटरमा नै सिधै कुनैपनि फाइलहरुमा टिप्पणी तथा निर्णय गर्न सकिनेछ।
“अब अनलाइनमा नै टिप्पणी उठाउने र निर्णय गर्न सकिने गरी सबै अधिकृतहरुका लागि डिजिटल सिग्नेचर प्रयोगमा ल्याएका छौं, यसले निर्णय प्रकृया पारदर्शी र छिटो हुनेछ,” सहसचिव दत्तले टेक्नोलोजीखबरसँग भने ।
असोज १ गतेदेखि शुरु भएको सो प्रणालीअन्तरगत अहिले पनि मन्त्रालयमा आउने पत्रहरुलाई अफिस अटोमेसन प्रणालीमा राख्ने र सम्बन्धित अधिकारीकोमा पठाउने कार्य गरिरहेको छ।
अफिस अटोमेसनको प्रणाली सूचना प्रविधि विभागले तयार पारेको र यसको ब्याकअप सिस्टम सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ।
सहचिव दत्तकाअनुसार मन्त्रालयमा नयाँ मन्त्री आएसँगै उनले पनि डिजिटल सिग्नेचर प्रयोग गरेर पहिलो फाइलमा निर्णय गर्नेछन्।
“अब पुरानो तरिकाले फाइलमा हस्ताक्षर गर्ने भन्दापनि अफिस अटोमेसनमा सिधै डिजिटल सिग्नेचरमार्फत निर्णय गर्ने गरी तयारी अवस्थामा छौं,” उनले भने।
यसलाई हाल सञ्चार मन्त्रालयमा सो प्रणालीको प्रयोगलाई परीक्षणको रुपमा लिँदै सरकारले त्यसपछि सबै मन्त्रालयहरुमा यसलाई लागू गर्ने योजना लिएको छ। जसमा आगामी दिनमा अन्तर मन्त्रालय पत्र तथा फाइलहरु समेत आदान प्रदान गर्न सहज र छिटो हुने विश्वास लिईएको छ।
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार