पठाओ नेपालको तीन बर्ष पूरा, ‘पठाओ दसैं महोत्सव’ घोषणा

  • Technology Khabar | ९ आश्विन २०७८, शनिबार
पठाओ नेपालको तीन बर्ष पूरा, ‘पठाओ दसैं महोत्सव’ घोषणा

काठमाडौं ।

समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा सुरू भएको ३ वर्ष पूरा भएको छ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओले सेवा सुरू गरेको थियो।

नेपालजस्तो विकासउन्मुख देशमा पठाओमार्फत् दुई पाङ्ग्रे सवारीमै हजारौंलाई रोजगारीको अवसर सिर्जना गर्न सफल भएकोमा आफूहरू अझै उत्साहित भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यात बताउँछन्।

९ अगस्ट २०१९ मा पठाओमा कार लाइट अर्थात् ट्याक्सी सेवामात्र जोडिएन यसले क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ।

अहिले राजधानीका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको बस्न्यात बताउँछन्।

राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सुरू गरेको थियो।

पठाओ फुड सुरू गरेको एक वर्षमै लोकप्रिय फुड डेलिभरी ब्राण्ड बन्नुको श्रेय आमउपभोक्तालाई नै जाने बस्न्यात बताउँछन्। पठाओ फुड सुरू भएसँगै साइकल भएका व्यक्तिहरू समेतले फुडम्यानको रूपमा रोजगारीको अवसर प्राप्त गरेका छन्।

राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरूआत समेत गरेको छ।

‘पार्टटाइम काम गर्न चाहनेलाई पनि पठाओले अवसर सिर्जना गरेको छ,’ बस्न्यातले भने, ‘विदेशतिर सानै उमेरमा विद्यार्थीहरू पार्टटाइम काम गरेर आत्मनिर्भर हुने प्रवृत्ति छ। आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले नेपालमा पनि विद्यार्थीहरूले पठाओमा आफ्नो समयको सदुपयोग गर्दै अर्थोपार्जन गरिरहनुभएको छ।’

प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरूपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडररक्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन्।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरू गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि पठाओ बजार सुरू गरिएको थियो।

हालै पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरी ‘पठाओ दसैं महोत्सव’ घोषणा गरेको छ। महोत्सवमा बम्पर उपहारमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन १२ प्रो जित्ने मौका रहेको छ।

पठाओ नेपालको यात्रा तेस्रो वर्ष पूरा गरेको यो खुसीको अवसरमा विज्ञप्ति जारी गर्दै बस्न्यातले भने, ‘नेपालको उत्कृष्ट राइड सेयरिङ कम्पनी बनाउन सहयोग गर्नुहुने हाम्रा सम्पुर्ण सेवाग्राही, मिडियाका साथीहरू, साझेदार कम्पनी, राइडर(क्याप्टेन र फुडम्यान साथीहरू तथा कार्यालयका साथीहरूप्रति कृतज्ञ छौं। यहाँहरूको साथ र सहयोगबिना यो यात्रा सम्भव थिएन। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं।’

प्रकाशित: ९ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार