
काठमाडौं ।
अब स्थानीय तहको एपबाटै कर बिबरण हेर्न तथा बिद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत करलगायतका सेवा शुल्क बिद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने सुविधा उपलब्ध भएको शुरु भएको हो ।
सूचना प्रविधि विभागले हालै प्रेस विज्ञप्तीमार्फत पहिलो चरणमा २१ ओटा स्थानीय तहको कर प्रणालीलाई एपमा आबद्ध गरेको जानकारी दिएको छ। यसरी आबद्ध हुनेमा नगरपालिकाहरु रहेका छन् ।
सो एपमा आबद्ध भएका स्थानीय तहहरुमा काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका र बुटवल उपमहानगरपालिका रहेका छन् ।
त्यसैगरी धुलिखेल, कीर्तिपुर, गोदावरी, कावासोती, मध्यबिन्दु, गोकर्णेश्वर र तिलोत्तमा, नमोबुद्ध, बेलौरी, बर्दघाट, बनेपा, पुनर्वास, धनगढीमाई, थुलुङ र दुधकोसी नगरपालिकाको कर प्रणालीहरुमा आबद्ध भई करका बिबरणहरु हेर्ने र अनलाइनबाट भुक्तानी गर्ने सुविधा एपमा रहेको छ।
यसरी बिबरणहरु हेर्न तथा भुक्तानी सेवा प्रयोगका लागि सेवाग्राही तथा करदाताहरुले सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको प्रयोगकर्ताको विवरण प्रयोग गर्नुपर्नेछ।
‘आगामी दिनमा स्थानीय तहसँग सम्बन्धित विभिन्न करहरूको भुक्तानीका साथै अन्य सेवाहरू समेत यसमा थप गर्दै उल्लेखित सेवाहरु सबै स्थानीय तहमा यसलाई विस्तार गर्दै लगिने छ। यस मोबाइल एपको माध्यमबाट स्थानीय तहमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका रहनेछ,’ विभागले विज्ञप्तीमा भनेको छ ।
विभागले यो एप २०७५ साउन १८ मा तयार पारेर सार्वजनिक गरेको हो । स्थानीय तहहरुका सेवा तथासूचनाहरु नागरिकलाई प्रदान गर्ने यसको उद्देश्य रहेको छ।
प्रयोगकर्ताले एन्ड्रोइड र आईओएसमा गएर ‘स्थानीय तह’को एप डाउनलोड गर्न सक्नेछन् ।

प्रकाशित: ५ आश्विन २०७८, मंगलवार