
काठमाडौं ।
चीनको उच्च सुरक्षा नियामकले हालै वालस्ट्रीटका कार्यकारीहरुसँगको गोप्य छलफलका क्रममा प्रविधि कम्पनीमाथि आफूले गरेको कडाइको बचाउ गरेका छन्।
हालै समाचार संस्था ब्लूमबर्गकले समाचारमार्फत् यो जानकारी बाहिर ल्याएको हो।
चीनका नियामकहरुले विभिन्न शीर्षकमा विभिन्न कम्पनीहरुमाथि कडाइ गरेपछि शेयर बजारमा पनि गिरावट आएको तथा अलिबाबा लगायतका कम्पनीको बजार पुँजीकरण पनि घटेकोले यो चिन्ताको विषय बनेको लगानकर्ताहरुको भनाइ छ।
चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन सीएसआरसीका उपाध्यक्ष फाङ शिंघाइले छलफलका क्रममा आफूहरुले हालैको कदम उपभोक्तामुखी प्लेटफर्मयुक्त कम्पनीलाई मजबुत बनाउन तथा डाटा गोपनीयता र राष्ट्रिय सुरक्षा बढाउनका लागि गरिएको बताएको उक्त मामलासँग जानकार स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ।
गत बिहीबार करिब ३ घण्टा चलेको चीन-अमेरिका वित्तीय गोलमेच छलफलमा पिपल्स बैंक अफ चाइनाका प्रमुख तथा गोल्डम्यान शाख्स ग्रुप इंक, सिटाडेल र अन्य वालस्ट्रीट कम्पनीका प्रमुखहरुको उपस्थिति रहेको ब्लूमबर्गले लेखेको छ।
यसबारेमा सीएसआरसीसँग सम्पर्क हुन नसकेको तथा गोल्डम्यान शाख्सले जवाफ दिन नमानेको र सिटाडेलले तत्काल जवाफ नफर्काएको समाचारमा उल्लेख छ।
विश्वका लगानीकर्ताहरुले केही महिनायता चिनियाँ नियामकहरुको प्रविधि, गेमिङ तथा निजी सिकाइसम्बन्धी कम्पनीहरुप्रतिको व्यवहारका कारण समस्या भोग्दै आइरहेका छन्।
फाङले नियामकको शिक्षा तथा गेमिङ क्षेत्रमा गरेको कडाइ समाजमा चिन्ता घटाउने उद्देश्यले गरिएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ४ आश्विन २०७८, सोमबार