
काठमाडौं ।
भारतको उत्तर प्रदेशको ग्रेटर नोयडामा फुड डेलिभरी साइट स्विगीका एक डेलिभरी एजेन्टले एउटा रेष्टुरेन्ट मालिकको गोली हानेर हत्या गरेका बताइएको छ।
स्थानीय प्रहरीका अनुसार स्विगीका फुड डेलिभरी एजेन्टले गरेको अर्डर ढिलो आएको विषयमा उनी र रेष्टुरेन्टका एक कर्मचारीबीच बुधबार बिहान विवाद भएको थियो। त्यसपछि विवाद सुल्झाउन त्यहाँ आएका रेष्टुरेन्ट मालिकलाई ती आरोपित डेलिभरी एजेन्ट गोली प्रहार गरेका हुन्।
प्रहरीहरु यो विषयमा अनुसन्धान गरिरहेको जी न्यूजले उल्लेख गरेको छ। घटनामा गोली लागेर ज्यान गुमाएका रेष्टुरेन्टका सञ्चालक सुनिल अग्रवाल रहेको र उनले ग्रेटर नोयडाको मित्र सोसाइटीमा जाम जाम नाम गरेको फुड डेलिभरी रेष्टुरेन्ट चलाउँदै आएको स्थानीय प्रहरीको भनाइ छ।
यस्तो थियो घटना
गोलीकान्डका आरोपित डेलिभरी एजेन्ट उक्त रेष्टुरेन्टमा अर्डर गरिएको ‘चिकेन बिरयानी’ र ‘पुरी सब्जी’ लिन बिहान सवा १२ बजे आइपुगेका थिए।
यीमध्ये एउटा अर्डरमा भएको खानेकुरा बनिसकेको र अर्को बन्ने क्रममा रहेको थियो। त्यसपछि ती डेलिभरी एजेन्टले रिसाउँदै त्यहाँका कर्मचारीसँग विवाद गर्न थाले।
प्रत्यक्षदर्शीका अनुसार ती एजेन्ट र कर्मचारीबीच भनाभन भइरहँदा रेष्टुरेन्ट मालिक अग्रवालले छुट्याउन खोज्दा एजेन्टले अग्रवालको टाउकोमा गोली हानेका थिए।
गोली हान्नेबित्तिकै उनी त्यहाँबाट भागेका थिए।
उनलाई तत्कालै नजिकै रहेको यथार्थ हस्पिटल पुर्याएपछि डाक्टरहरुले मृत घोषित गरेका थिए।
आरोपित डेलिभरी एजेन्टले घटनाका बेला मादक पदार्थ सेवन गरेको र उनीसँग अर्का एक व्यक्ति पनि रहेको प्रहरीलाई उद्धृत गर्दै एनडीटीभीले बताएको खबरमा उल्लेख छ।
उनीहरुविरुद्ध हत्याको उजुरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको र फरार रहेका आरोपितलाई छिट्टै पक्राउ गरिने प्रहरीको भनाइ छ।
प्रकाशित: १६ भाद्र २०७८, बुधबार