विद्यार्थीलाई अनलाइन कक्षा लिनु न छोड्नु

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
विद्यार्थीलाई अनलाइन कक्षा लिनु न छोड्नु

काठमाडौं ।

दोलखाको भीमेश्वर नगरपालिका–८, शेराबेँसीका विद्यार्थीलाई अनलाइन कक्षा लिन गाह्रो भएको छ।

गाउँमा फोरजी नेटवर्क नहुँदा डाँडाडाँडा चाहारेर अनलाइन कक्षा लिनुपर्दा असहज भएको कुटीडाँडा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कीर्तिसा श्रेष्ठले दुखेसो पोखिन् । घरमा इन्टरनेटको पहुँच नहुँदा १५ मिनेटको पैदल यात्रा गरी वडा नं. ७ को डाँडामा बसेर अनलाइन कक्षा लिनुपर्ने उनले बताईन् ।

उनले भनिन्, “बिहान ८ बजेदेखि २ बजेसम्म कक्षा लिनुपर्दा न खाना न पिना भएको छ । कहिले टिफिनमा ल्याइन्छ त कहिले अभिभावकले ल्याइदिनुहुन्छ । एकान्तजस्तै स्थानमा डरडर पनि लाग्छ । वर्षाको समय भएकाले ओत लाग्ने व्यवस्था गस्एिको छ ।”

करिब २५ घर भएको शेराबेँसीका आठ जनाले दुःखका साथ अनलाइन कक्षा लिइरहेका छन् कक्षा ९ मा अध्ययनरत जोहात्ना तामाङको पनि गुनासो छ ।

नेट आउने बारीको पाटोमा अस्थायी टहरामा दुःखका साथ पढ्नु परेको गुनासो सुनाउँदै उनले भनिन्, “घामपानीबाट छलिन छहारी बनाइएको छ । गुन्द्रीमा बसेर छ घण्टासम्म पढ्नुपर्छ । खानपिनको ठेगाना छैन ।”

कोरोना सुरु नहुँदै पनि उनीहरू दुई घण्टाको उकालो पैदल यात्रापछि पढ्न जानुपर्ने बाध्यता थियो । सरकारले यातायात र नेटको व्यवस्था नगरिँदा सधैँ दुःख भएको विद्यार्थीको गुनासो छ ।

अभिभावक नानीमैया श्रेष्ठले भनिन्, “सबैका घरमै बसेर पढ्छन् ।, आफ्ना सन्तान डाँडाडाँडा चहारेर पढ्नबाध्य छन् । एकान्त ठाउँ छ, छोरीलाई पढ्न पठाउँदा दिनभर चिन्ताले सताउँछ । घरमा आएपछि बल्ल मन अलि सन्तोष हुन्छ । यसरी कति दिन बिताउनु ?”

भीमेश्वर नगरपालिकाले नगरभित्रका विद्यालयमा सशरीर उपस्थित भएर पठनपाठन गर्नसक्ने अवस्था नरहेकाले सबैको अनलाइन कक्षा, क्लोज युजर ग्रुप र वर्कसिटमार्फत पठनपाठन सुरु गरेको छ । साउन महिनादेखि ५६ दिनका लागि वर्कसिट वितरण गर्न सुरु गरिएको छ ।

कुटीडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठले एक हप्ताका लागि एउटा लिने र अर्को वर्कसिट दिने गरिएको बताए । उनले भने, “नयाँ वर्कसिट दिन जाँदा पहिलो वर्कसिटको नम्बर पनि दिने गरिएको छ । अब पाँच हप्ताका लागि वर्कसिट तयार छ ।”

यो विद्यालयका ७ देखि १२ कक्षासम्मका १२८ विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् भने १९९ जना क्लोज युजर ग्रुपमा जोडिएका छन् । अनलाइनमार्फत पढ्ने विद्यार्थीलाई नगरले प्रतिमहिना १२९ रुपियाँ बराबरको फोन रिचार्ज सुविधा दिएको उनले बताए ।

नगरपालिकाले अनलाइनमा पहुँच नपुगेका लागि क्लोज युजर ग्रुपको व्यवस्था गरिदिएको छ । उनीहरूले प्रिपेड सिम लिनुपर्छ । नगरले फोन चलाउने विद्यार्थीलाई एक महिनाका लागि १२९ रुपियाँ टेलिकमलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । यसमा साथी–साथीको समूह बन्छ । फोन नहुनेले पनि सँगसँगै पढ्न पाउँछन् । अहिले तीन महिनाका लागि व्यवस्था भएको छ । यसमा आठ जीबी डाटा उपलब्ध हुन्छ । गोरखापत्र

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार