सरकारी वेबसाइटहरु खोल्नै कठिन, समस्या पहिचान गरिसकेको सूचना प्रविधि केन्द्रको भनाई

  • Technology Khabar | ५ श्रावण २०७८, मंगलवार
सरकारी वेबसाइटहरु खोल्नै कठिन, समस्या पहिचान गरिसकेको सूचना प्रविधि केन्द्रको भनाई

काठमाडौं ।

सरकारी निकायका वेबसाइटहरुमा दिनभर नखुल्ने तथा ढिलो खुल्ने समस्या आएको छ । बिहानदेखि आएको सो समस्या पहिचान भएसँगै वेबसाइटहरु पुन सञ्चालनमा आएको सरकारी वेबसाइटहरुको प्राविधिक जिम्मा लिएको निकायले जानकारी दिएको छ।

आज बिहानदेखि नै सरकारी निकायका वेबसाइटहरुमा समस्या आएकोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले समस्याको पहिचान गरिएको र अधिकांश वेबसाइटहरु सञ्चालनमा आएको दाबी गरेको छ ।

केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले सर्भरमा समस्या देखिएको र सो समस्या पहिचान भएसँगै समाधान गरिएको जानकारी दिए ।

‘एउटा सर्भरमा भएको कुनै एप्लिकेसनले ब्रोडकास्ट गरिरहेको भेटिएको थियो । जसले गर्दा सो सर्भरमा आउने ट्राफिकलाई नै असर पारेको थियो । हामीले पत्ता लगाएर समाधान गरिसकेका छौं,’ पोखरेलले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार यसबाट सो सर्भरमा रहेका विभिन्न सरकारी निकायका वेबसाइटहरु समस्याग्रस्त भएका थिए र अझै केहि वेबसाइटहरुमा देखिएको समस्या समाधान गर्न प्राविधिकहरुले काम गरिरहेका छन् ।

अन्य सर्भरमा रहेका सरकारी वेबसाइटहरु भने सामान्य रुपमा सञ्चालनमा रहेको केन्द्रको भनाई छ।

यसैबिच केहि सरकारी निकायका वेबसाइटहरु सुरक्षा प्रमाणित गर्ने एचटिटिपिएसको अवधि सकिएसँगै ती वेबसाइटहरुमा पहुँच गर्न कठिन भएको छ।

सो बारेमा पनि काम गरिरहेको र प्रमाणीकरण नियन्त्रणको कार्यालयले सो जिम्मा लिएको हुँदा छिटै समस्या समाधान हुने पोखरेलले जानकारी दिए।

सरकारी वेबसाइटहरुमा परेको असरका कारण नेपाल दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, सुचना विभाग, गोरखापत्रलगायतका वेबसाइटहरु अझै खुल्न सकेका छैनन् ।

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...