काठमाडौं ।
दक्षिण कोरियामा रहेको एलजी केमले आगामी सन् २०२५ भित्र आफ्नो ब्याट्री व्यवसायमा ६० खर्ब कोरियाली वन अर्थात् ९ खर्ब ३० अर्ब डलर हाराहारीमा लगानी गर्ने योजना रहेको बताएको छ।
उपाध्यक्ष शिन हाक-चेओलले बुधबार जानकारी गराए अनुसार कम्पनीले तीन ओटा वृद्धिका इन्जिन नाम दिएका परियोजनाहरुमा जम्मा १०० खर्ब वन अर्थात् ८ अर्ब ७२ करोड डलर लगानी गर्ने योजना बनाएको छ।
१०० खर्ब वनमध्ये एलजी केमले ६० खर्ब ब्याट्री व्यवसायमा, ३० खर्ब दीगो वातावरण-मैत्री व्यवसायमा तथा १० खर्ब औषधी निर्माण व्यवसायमा लगाउने बुझिएको छ।
उपाध्यक्ष शिनका अनुसार कम्पनीको ब्याट्री उत्पादन गर्ने भगिनी संस्था एलजी इनर्जी सोलुशनले यसै वर्षभित्र शेयर निस्कासन गर्ने पनि बताए।
एलजी केमले एलजी आईपीओ निस्कासनपछि इनर्जी सोलुशनको ७० देखि ८० प्रतिशत स्टेक लिने र लगभग २० खर्ब वन उक्त भगिनी संस्थाका लागि छुट्याउन कुनै अप्ठेरो नहुने पनि जानकारी दिए।
ब्याट्री व्यवसायका लागि छुट्याइएको ६० खर्ब वनमध्ये क्याथोड, सेपरेटर, बाइन्डर तथा कार्बन नानोट्युबलगायतमा खर्च हुने बुझिएको छ।
एलजी केमले सन् २०२६ सम्ममा वार्षिक क्याथोड उत्पादन क्षमता २ लाख ६० हजार टन पुर्याउने लक्ष्य राखेको छ।
कम्पनीले ब्याट्रीसँग सम्बन्धित फ्याक्ट्रीहरु यूरोप तथा अमेरिकामा पनि खोल्ने साथै क्याथोडका लागि आवश्यक कच्चा पदार्थ उत्पादनका लागि कोरिया जिक नामक कम्पनीसँग साझेदारी गर्ने पनि बताइएको छ।
वातावरणमैत्री परियोजनाका लागि छुट्याइएको ३० खर्ब वन जैविक पदार्थाहरु, रिसाइक्लिङ तथा नयाँ उर्जाका क्षेत्रमा खर्च गरिनेछ।
यसैगरी कम्पनीले जैविक रुपमा कुहिने प्लास्टिक तथा सोलर प्यानल प्रविधिको पनि विकास गर्ने योजना रहेको छ।
यस्तै औषधीका क्षेत्रमा भने सन् २०३० सम्ममा कम्तीमा दुईओटा औषधी विकास गर्ने साथै यो औषधी र औषधी व्यवसायलाई यूरोप र अमेरिकासम्म फैलाउने लक्ष्य राखेको छ।
प्रकाशित: ३० असार २०७८, बुधबार