ग्लोबल बजाज सर्भिस सेन्टरका सञ्चालक नै मोटरसाइकल चोरीमा संलग्न

  • Technology Khabar | १८ असार २०७८, शुक्रबार
ग्लोबल बजाज सर्भिस सेन्टरका सञ्चालक नै मोटरसाइकल चोरीमा संलग्न

काठमाडौं ।

मोटरसाइकल चोरीमा संलग्न रहेका आठ जनालाई १३ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । दाङबाट चोरी गरी रोल्पा र प्यूठान लगि मोटरसाइकल बिक्री गर्ने गरेको गिरोहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी गिरोहका नाइकेसहित आठ जना प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक जना भारतीय, पाँचजना रोल्पाका, एकजना दाङ र एकजना प्यूठानको रहेका छन् ।

भारत बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक, दाङ घोराही १९ का १९ वर्षीय जाबेद खान, प्यूठान स्वर्गद्वारी नगरपालिका ३ जलुकेका २४ वर्षीय ठगीराम थापा, रोल्पा सुनिल स्मृती गाउँपालिका ३ सुलिचौरका २८ वर्षीय श्रीजात अन्सारी, लुङ्ग्री गाउँपालिका ४ नम्जाका २६ वर्षीय लेखनाथ विष्ट र सोही गाउँपालिका–५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा नं. ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री र २२ वर्षीय हिराबहादुर विष्ट रहेको प्रवक्ता (डीएसपी) मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

पक्राउ परेकामध्ये श्रीजात अन्सारी ग्लोबल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेका र रोल्पामा उनले चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गरेको प्रहरीले जनाएको छ । प्यूठानका थापा अटो पार्टसका सञ्चालक रहेका र उनले चोरीका मोटरसाइकल खरिद गर्ने र बिक्री गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीमा दैनिक मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरी सहायक निरीक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । गोरखापत्र

प्रकाशित: १८ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार