
काठमाडौं ।
बेलायतको लन्डनमा मुख्यालय रहेको टेक कम्पनी वनवेबले अन्तरिक्षमार्फत ग्लोबल इन्टरनेट सेवा विकास गर्न खोजिरहेको छ। जसअनुसार कम्पनीले बिहिबार बिहान महत्वपूर्ण कदम हासिल गरेको छ।
फर्मले आफ्नो ३६ स्याटेलाइट (भूउपग्रह) अन्तरिक्षमा प्रक्षेपण गरेको छ, जसले अब यसको इन-अर्बिट मेगा कन्स्टेलेसनमा २५४ स्याटेलाइट पुर्याएकोछ ।
यद्यपि नेटवर्क पूर्ण गर्नका लागि अझ धेरै स्याटेलाइटहरु आवश्यक छ, तरपनि यो संख्या उत्तरी गोलार्धको एक ठूलो भेगमा व्यवसायीक सेवा प्रस्ताव सुरू गर्न पर्याप्त रहेको बीबीसीले जनाएको छ।
संभवत सो सेवा यो वर्षको अन्त्यमा सुरू हुनुपर्छ।
‘यी चीजहरू रातोरात हुँदैनन्, बितेका केही महिनाहरूमा त्यहाँ धेरै मेहनत भइरहेको छ। तर यो प्रक्षेपण विशेष हो,’ वनवेबका सीईओ नील मास्टरसनले भने।
‘यो त्यही हो जसले हामीलाई छ० डिग्री उत्तरी अक्षांशबाट उत्तरी ध्रुवमा जोडन सहयोग पुर्याउँछ, र उत्तरी यूरोप, बेलायत, ग्रीनल्याण्ड, क्यानाडा, अलास्का र आइसल्याण्ड समेट्छ,’ उनले बीबीसी न्यूजलाई भने।
स्याटेलाइटहरुको पछिल्लो खेप रूसको सुदूर पूर्वमा रहेको भोस्टोची कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको हो।
सोयुज क्यारियर रकेटले ती स्याटेलाइटहरु अन्तरिक्षमा प्रक्षेपण गरेको छ। सबै स्पेसक्राफ्टको सफल रिलीजको पुष्टि भएको छ ।
हालै वनवेबमा भारतीय लगानी कम्पनी भारती ग्लोबलले ५० करोड नगद लगानी गरेको थियो । टाट पल्टिएको घोषणा गरेको सो कम्पनीमा बेलायती सरकारसहित विभिन् अन्य कम्पनीले थप लगानी गरेर उकासेका थिए । जसले १ वर्ष भित्रै २५४ स्याटेलाइट लन्च गर्न सफल भएको हो ।
वनवेबले विश्व बजारमा इलन मस्कको स्टारलिंक र जेफ बेजोसको प्रोजेक्ट कुइपरसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: १७ असार २०७८, बिहीबार