काठमाडौं ।
अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ।
बुधबार एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
दराज अलीबाबा समूहको एक हिस्सा हो। अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो।
यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिंदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ।
“टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्द्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । सहभागी २०७ देशमध्ये नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राखेको छु । यसबाहेक दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। यो सधैं ओलम्पिक कमिटीको मुख्य लक्ष्य रहँदै आएको छ ।’ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले भने।
“खेलकुद र त्यसमा पनि ओलम्पिकले आफ्नो बेग्लै परम्परागत पहिचानसहित विश्वभरका मानिसलाई एकसाथ बाँध्ने गरेको छ । अहिले कोभिड–१९ को यस कठिन समयमा सबैको जीवनमा असर पर्दा पनि यसले केहि खुसी दिने प्रयास गरेको छ । हामी टोकियोमा हुने ओलम्पिक खेलका लागि यस सहकार्यमा साथ दिन पाउँदा गौरव महसुस गरिरहेका छौं,” दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।
टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ । २ सय भन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवर्द्धन होस् भन्ने नै रहेको कम्पनीले जनाएकोछ।
प्रकाशित: १२ असार २०७८, शनिबार