गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारी, कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने

  • Technology Khabar | १२ असार २०७८, शनिबार
गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारी, कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने

काठमाडौं ।

गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुन, बीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एनआरएनएले सामाजिक संजालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ। त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ।

गैर आवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी  गर्न पनि सहमत भएका छन्।

“८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरुले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ। अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफुलाई स्थापित गरेर नेपाल, भारत लगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुन, संग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं,” गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले भने।

विश्व ज्ञान सम्मेलन जस्ता कार्यक्रम मार्फत प्रवासी नेपालीहरुसंग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन संघले काम गरिरहेको पनि उनले बताए।

यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

“अहिले झन्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइ रहनु भएको छ र ६५ राष्ट्रहरुबाट ४,५०० भन्दा बढी लगानीकर्ताहरु हामीसंग जोडिनु भएको छ।  हाम्रो यात्रामा प्रवासी नेपालीहरुले देखाउनु भएको माया, सहयोग र साथका लागि हामी सधैं आभारी छौं । साथै गैरआवासीय नेपाली संघसंगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने हाम्रो विश्वास छ,” उनले भने।

प्रकाशित: १२ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...