
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमको गतिबिधि र कार्यहरुको निरिक्षण गरेकी छिन् ।
उनले आईतवार नियमनकारी निकाय प्राधिकरण र सरकारी स्वामित्वको नेपाल टेलिकमको निरिक्षण गरेकी हुन् ।
सो क्रममा मन्त्री थापाले दूरसञ्चार प्राधिकरणले गर्ने कार्यहरु र गतिबिधिहरुको बारेमा जानकारी लिएकी थिईन्।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार मन्त्री थापाले आफू यस क्षेत्रको लागि नयाँ भएको भन्दै प्राधिकरणको कार्यहरु र गतिबिधिहरुको बारेमा चासो राखेको जानकारी दिए ।
‘मन्त्री ज्यूले आफू नयाँ भएको र यस बारेमा थप जानकारी लिन आएको भन्नुभयो र हामीले गरिरहेका कार्यहरु र गतिबिधिहरुको बारेमा बतायौं,’ अध्यक्ष खनालले भने ।
मन्त्री थापाले कानूनअनुसारको काम गर्न समेत प्राधिकरणलाई निर्देशन दिएकी थिईन् ।
त्यसैगरि आईतवार नै नेपाल टेलिकमको निरिक्षण गर्दै मन्त्री थापाले सरकारी कम्पनीले कानून अनुसार आफ्ना कार्यहरु गर्न निर्देशन दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
‘मन्त्री ज्यूले सरकारी कम्पनीले कानूनको पालना गरेर काम गर्न र फोरजी प्रविधि र फाइभजी प्रविधिको बारेमा समेत चासो राख्नुभएको थियो । हामीले त्यसैअनुसार जानकारी दिएका थियौं,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।
मन्त्री थापाले पछिल्लो समयमा तिब्रगतिमा परिवर्तन भईरहेको प्रविधिले कम्पनीको सेवामा असर पार्ने/नपार्ने बारेमा समेत चासो राखेको बताईएको छ ।
सो निरिक्षणको क्रममा सञ्चार मन्त्रालयका सचिव, सहसचिव लगायत सञ्चारमन्त्रीको अनौपचारिक सल्लाहकार सहितको टोली समेत रहेको बताईएको छ ।
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार