आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट राख्न देशभरका स्थानीय तहलाई प्राधिकरणले बोलायो

  • Technology Khabar | १७ जेष्ठ २०७८, सोमबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यका बाहेकका ६६ जिल्लाका आधारभूत विद्यालयहरुलाई ब्रोडब्याण्ड इन्टरनेट सेवा लिनका लागि सम्झौता गर्न बोलाएको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै ६६ जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्नका लागि बोलाएको हो ।

सरकारले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरि देशभरका आधारभूत विद्यालयहरुमा तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने योजना लिएको छ ।

जसको शुरुवात भुकम्प अति प्रभावित ८ जिल्लाहरुबाट शुरु गर्ने योजना लिईएको छ । गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो अभियान शुरुवात भएको घोषणा गरेका थिए । जसमा भुकम्प अति प्रभावित ८ जिल्लाहरुका आधारभूत विद्यालयका साथसाथै स्थानीय तह र निकायहरुम समेत ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने योजना छ ।

त्यस लगत्तै प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर ती ८ जिल्लाका स्थानीय तहहरुलाई १५ दिनभित्र सम्पर्क गर्न बोलाएको थियो ।

आठ जिल्लाका स्थानीय तहलाई दूरसञ्चार प्राधिकरणले बोलायो, सबैलाई ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने

पहिलो सूचनाको आधारमा हालसम्म २५/२६ निकायहरुले सम्पर्क र समझदारी पत्रमा हस्ताक्षरको प्रकृया शुरु गरिसकेको प्राधिकरणका पूर्वाधार महाशाखाका उपनिर्देशक विनोद चन्द्र श्रेष्ठले जानकारी दिए ।

‘सबै स्थानबाट जानकारी लिनका लागि सम्पर्क गर्नुभएको छ र केहीले समझदारी पत्रमा हस्ताक्षर समेत गरिसक्नुभएको छ । निषेधाज्ञा खुलेपछि यो संख्या बढ्नेछ,’ उनले भने ।

अहिले प्राधिकरणले नयाँ सूचना मार्फत ती ८ जिल्लासहित बाँकी ६६ जिल्लाका स्थानीय तहहरुलाई आधारभूत विद्यालयहरुका लागि इन्टरनेट सेवा उपलब्ध गराउनका लागि समझदारीपत्रमा हस्ताक्षरका लागि बोलाएको हो ।

प्राधिकरणले देशभरका आधारभूत विद्यालयहरुका साथै यसअघि नै इन्टरनेट सेवा पुगिसकेका अन्य स्थानीय तह र निकायहरुमा समेत २० एमबीपीएसको ब्रोडब्याण्ड इन्टरनेटमा स्तरोन्नती गरेर सेवा उपलब्ध गराउने योजना लिएको छ ।

प्राधिकरणले देशभरका आधारभूत विद्यालय भएका करिब २३ हजार स्थानहरुमा २० एमबीपीएसको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्य लिएको छ ।

यो पनि हेर्नुस्-

देशभर सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गर्न १ अर्ब रुपैयाँ खर्च गर्दै दूरसञ्चार प्राधिकरण

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार