नेपालमा एक वर्षमा झण्डै १७ लाख मोबाइल ग्राहक थपिए, टेलिकमका बढे, एनसेलका घटे

  • Technology Khabar | १० जेष्ठ २०७८, सोमबार
नेपालमा एक वर्षमा झण्डै १७ लाख मोबाइल ग्राहक थपिए, टेलिकमका बढे, एनसेलका घटे

काठमाडौं ।

नेपालमा मोबाइल सेवा प्रयोगकर्ताको सङ्ख्या ४ करोड ३ लाख ४८ हजार ४६७ पुगेको छ। यो सङ्ख्या गत वर्ष चैत मसान्तको भन्दा १६ लाख ७० हजार ६४२ ले बढी हो।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै अद्यावधिक गरेको फागुन मसान्तसम्मको प्रतिवेदन अनुसार उक्त संख्यामा मोबाइल सेवाका प्रयोगकर्ता देखिएका हुन्। यो तथ्याङ्कमा जीएसएम तथा सीडीएमए दुवै प्रकारका सेवाग्राही हरुको सङ्ख्या समावेश गरिएको छ।

नेपालमा मोबाइल सेवा सञ्चालन गरिरहेकामध्ये यो फागुनमसन्त सम्ममा पनि गत वर्ष झैं नेपाल टेलिकम सेवाग्राहीको सङ्ख्यामा अग्रपंक्तिमा रहेको छ।

गत वर्षको चैत मसान्तसम्म नेपाल टेेलिकमका १ करोड ९६ लाख ५ हजार ९१० सेवाग्राही रहेकामा यो फागुन मसान्तसम्म २१ लाख ५ हजार ५९९ बढेर २ करोड १७ लाख ११ हजार ५०९ पुगेका छन्।

एनसेलका ग्राहक भने गत वर्षभन्दा उल्लेख्य मात्रामा घटेको तथ्याङ्कले देखाएको छ। गत वर्ष १ करोड ६९ लाख १ हजार ९८ कुल ग्राहक रहेकामा यो संख्या महिनैपिच्छे घट्दै यो वर्षको फागुन मसान्तसम्म आइपुग्दा १ करोड ६३ लाख १६ हजार ११० मा झरेको छ। यसरी हेर्दा १ वर्षमा एनसेलले आफ्ना ६ लाख ४४ हजार ९८८ मोबाइल ग्राहक गुमाएको छ।

यसैगरी स्मार्ट टेलिकमका ग्राहक पनि २१ लाख ७ हजार ९१२ बाट २ लाख १० हजार ३१ वृद्धि भएर २३ लाख १७ हजार ९४३ पुगेका छन्।

यसबाहेक अन्यमा गत वर्ष २ हजार ९०५ रहेकामा यो संख्या यथावत् देखिएको छ।

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार