सिभिल बैंकको नेतृत्वमा फेरबदल, सुनिल कुमार पोखरेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृत

  • Technology Khabar | ६ बैशाख २०७८, सोमबार
सिभिल बैंकको नेतृत्वमा फेरबदल, सुनिल कुमार पोखरेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृत

काठमाडौं ।

सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएको तथा उक्त राजीनामा मिति २०७८।०१।०५ गते बसेको संचालक समितिको बैठकबाट मिति २०७८।०१।१८ गते देखि लागु हुने गरी स्वीकृत भएको छ ।

साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले बि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र बि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए । बैंकले चेन्ज म्यानेजमेन्ट मार्फत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो ।

उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप रु ३३ अर्व ८१ करोड, कर्जा रु ३१ अर्व १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप रु ८७ अर्व ८९ करोड, कर्जा रु ८१ अर्व ४४ करोड, निष्कृय कर्जा अनुपात १.७० प्रतिशत तथा शाखा संख्या ११४ पुगेको छ । उनको कार्यकालमै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्ग तथा बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नायब प्रमुख कार्यकारी अधिकृत देखि प्रमुख कार्यकारी अधिकृतको हैसियतले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनलाई हार्दिक धन्यवाद तथा नेपालबाट विदेशी बैंकको पहिलो प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गर्ने अवसर पाएकोमा हार्दिक बधाई दिएका छन् ।

 

प्रकाशित: ६ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...