ताजा समाचार

सबै फ्रिक्वेन्सीहरुमा प्रविधि तटस्थता लागू हुने, एनसेललाई फ्रिक्वेन्सी दिन बाटो खुल्यो

सबै फ्रिक्वेन्सीहरुमा प्रविधि तटस्थता लागू हुने, एनसेललाई फ्रिक्वेन्सी दिन बाटो खुल्यो
काठमाडौंको कोटेश्वरमा रहेका मोबाइल टावरहरु। फाइल तस्बिर: टेक्नोलोजीखबर
Global IME Bank

सरकारले प्रविधि तटस्थताको आधारमा फ्रिक्वेन्सी दिनसक्ने व्यवस्था पारित गरेको छ । अब प्रविधि तटस्थतामा आधारित रहेर दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले आफूसँग भएको फ्रिक्वेन्सीमार्फत टूजी, थ्रिजी, फोरजी वा फाइभजी सहितका नविनतम प्रविधिमा आधारित जुनसुकै सेवा दिन गर्नसक्ने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले प्रविधि तटस्थता अपनाउने निर्णय गरेको हो ।

समितिले नेपालमा उपलब्ध सम्पूर्ण फ्रिक्वेन्सीमा प्रविधि तटस्थता लागू गर्ने निर्णय गरेको सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको छ।

समितिले सबै फ्रिक्वेन्सीका लागि प्रविधि तटस्थता अपनाउन सकिने निर्णय गरेको छ । यससम्बन्धि निर्णयअनुसार अब जुनसुकै फ्रिक्वेन्सीमा पनि प्रविधि तटस्थता मानेर नयाँ प्रविधि उपयोग गर्न सकिने भएको छ ।

समितिमा लामो समयदेखि ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा प्रविधि तटस्थता गर्ने बारेमा प्रस्ताव र छलफल भएपनि कुनै निष्कर्ष हुन आउन सकेको थिएन तर हालैको बैठकले भने नयाँ निर्णय गरेको हो ।

यससँगै अबै नेपाली टेलिकम कम्पनीहरुलाई समेत ५जी सेवा उपयोग गर्न सक्नेछन् ।

प्रविधि तटस्थताको विषय दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्यसम्बन्धी) नीति (पहिलो संशोधन), २०७३ मा उल्लेख रहेको छ । तर, पनि नीतिमा ९०० र २१०० लगायतका केही फ्रिक्वेन्सीहरु भने टूजी, थ्रिजीका लागि तोकिएको थियो ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि तटस्थता नहुँदा र ९०० र २१०० मेगाहर्ज ब्याण्डमा अक्सन मार्फत फ्रिक्वेन्सी बिक्री गर्ने निर्णय गरेपनि सो फ्रिक्वेन्सीका लागि नेपाल टेलिकम अयोग्य भएपछि अक्सन सफल हुन सकेको थिएन् ।

अक्सनमा कम्तीमा २ कम्पनीहरु सहभागी हुनुपर्ने मान्यताअनुसार दुईवटा कम्पनीहरु नभई एनसेल आजियाटा लिमिटेड मात्र योग्य भएसँगै सो दुई फ्रिक्वेन्सीहरुको अक्सन सुस्त भएको थियो ।

प्राधिकरणले १८०० मेगााहर्जको अक्सन सफलतापूर्वक गरेर अक्सनमार्फत एनसेललाई फ्रिक्वेन्सी बिक्री गरे पछि ९०० र २१०० को लागि समेत नयाँ तरिकाबाट प्रकृया शुरु गरेको थियो ।

जसअनुसार अक्सनको कानूनी प्रावधानअनुसार एनसेलसँग वार्तामार्फत फ्रिक्वेन्सीको मूल्य निर्धारण गर्ने र कम्पनीलाई सोहि मूल्यमा ९०० र २१०० को फ्रिक्वेन्सी बिक्री गर्ने योजना गरेको थियो।

तर सो योजनाअनुसार फ्रिक्वेन्सी वार्ता भएर एक किसिमको आधार मूल्य तय भईसकेपछि पनि प्राधिकरणले हालसम्म सो बारेमा स्पष्ट निर्णय गर्न सकेको छैन् ।

फ्रिक्वेन्सीको मूल्य वार्ताद्धारा तय गरेको प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट ‘ग्रीन सिग्नल’ नपाएको भन्दै सो फ्रिक्वेन्सी एनसेललाई दिन सकेको थिएन भने अर्कोतर्फ सरकारले करोडौं रुपैयाँ आम्दानी गुमाउँदै आएको थियो ।

ती दुईवटै स्पेक्ट्रम ब्याण्डमा प्रविधि तटस्थता गर्ने वा नगर्ने भन्ने निष्कर्ष नहुँदा प्राधिकरण अनिर्णयको बन्दी बनेको थियो।  यसअघि प्राधिकरणले नै २०७६ कात्तिक महिनामा ९०० र २१०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता हुने नहुने बारेमा स्पष्ट पार्न भन्दै पत्र पठाएको थियो ।

प्राधिकरण र एनसेलबिचको वार्तामा कम्पनीले प्रविधि तटस्थताअन्तरगत ९०० मेगाहर्ज ब्याण्डमा ६२ प्रतिशतसम्म र २१०० मेगाहर्ज ब्याण्डमा २५ प्रतिशतसम्म अधिक मूल्य तिर्न तयार रहेको बताएको थियो ।

अब भने प्राधिकरणलाई ती फ्रिक्वेन्सी अक्सनमार्फत फोरजी सेवा चलाउनका लागि सेवा प्रदायकहरुलाई उपलब्ध गराउन समेत बाटो खुलेको छ ।

९०० मेगाहर्ज ब्याण्डलाई प्रविधि तटस्थता गर्दा प्रति मेगाहर्ज (अनपेयर्ड) प्रति वर्ष २ करोड ४ लाख तोकिएको छ ।

२१०० मेगाहर्ज ब्याण्डको हकमा भने बोलकबोलबाट आएको मूल्यलाई आधार मानिने उल्लेख गरिएको छ ।

के छ नीतिमा ?

Sajilo Visa
easy care