
काठमाडौं ।
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पकाे फेसबुक तथा इन्स्टाग्राममाथि लागेको अनिश्चितकालीन प्रतिबन्धविरुद्ध फेसबुकको सुप्रिम कोर्ट (द ओभरसाइट बोर्ड) मा मुद्दा परेको छ।
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फेसबुक तथा इन्स्टाग्राम चलाउन प्रतिबन्ध लागेपछि यस सम्बन्धमा उच्च निकायमा अपिल गरिएको हो।
उक्त प्रतिबन्ध फुकुवाका लागि नाम नखुलाइएका एक व्यक्तिले निवेदन दिएको बताइए पनि केही सञ्चारमाध्यमले भने ट्रम्प आफैंले आफ्ना ३ करोड ५० लाख फलोअरहरु फिर्ता पाउने आशामा द ओभरसाइट बोर्डमा अज्ञात नामबाट निवेदन दिएको प्रचार गरिरहेका छन्।
फेसबुकको ओभरसाइट बोर्डका सह अध्यक्ष रहेका डेनमार्कका पूर्व प्रधानमन्त्री हेली थर्निङ स्मित लगायत रहेको उच्चस्तरीय टोलीले ट्रम्पको मुद्दामा छानबिन गरिरहेको बुझिएको छ।

स्थानीय च्यानल फोर न्युजले ट्रम्प आफैंले उक्त प्रतिबन्ध हटाइदिन अपिल गरेको बताएको छ। तर अन्य सञ्चारमाध्यमले भने अज्ञात व्यक्तिको नामबाट उक्त अपिल दर्ता भएको बताइरहेका छन्।
‘एक अज्ञात याचकबाट पूर्व राष्ट्रपति ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टका बारेमा ओभरसाइट बोर्डमा एउटा निवेदन परेको जानकारी गराउन चाहन्छाैं,’ ओभरसाइट बोर्डका एक प्रवक्ताले विभिन्न सञ्चारमाध्यममा पठाएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले यस सम्बन्धमा थप विवरण दिन भने मानेका छैनन्।
ओभरसाइट बोर्डमा ट्रम्पले फेसबुक र इन्स्टाग्राम एकाउन्टको पहुँच फेरि पाउनुपर्ने वा नपर्ने विषयमा लगभग ९ हजारभन्दा बढी कमेन्ट आएको बोर्डले जनाएको छ। यस सम्बन्धमा फैसला गर्न ९० दिनको समय रहेको जनाइएको छ। एजेन्सी
प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार