काठमाडौं ।
सरकारले पहिलो पटक साईबर सुरक्षालाई ध्यानमा राखेर साइबर नीति ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहिलो चरणको मस्यौदाको लागि कार्यसमिति नै गठन गरेर राष्ट्रिय साईबर सुरक्षा नीति बनाईरहेको छ।
मन्त्रालयले सञ्चार महाशाखा प्रमुख डिल्लीराम शर्माको संयोजकत्वमा गठित समितिले तिब्रगतिमा साईबर नीतिको खाका तयार पारिरहेको हो ।
सो नीति हाल प्रारम्भिक तयारीपछि त्यसलाई थप परिस्कृत गर्न साईबर सुरक्षा विज्ञलाई अध्ययनको जिम्मा दिईसकेको छ।
नेपालमा पहिलो पटक बनाउन लागेको साईबर सुरक्षा नीतिलाई हालको प्रविधिलाई आधार मानेर तयार पारिनेछ । सो नीतिले राष्ट्रिय साईबर सुरक्षा, प्रविधि, साईबर अपराधको विषयलाई समेट्नेछ।
मन्त्रालयकी सहायक प्रवक्ता तथा सूचना अधिकारी संगिता ओझाले पहिलो पटक साईबर नीति बनाउन लागिएको हुँदा त्यसलाई बृहतरुपमा साईबर सुरक्षा र अपराधको विषयलाई समावेश गरिने जानकारी दिईन् ।
‘साईबर नीतिले अहिले देखिएको सामाजिक सञ्जालको दूरुपयोगलाई सम्बोधन गर्ने र साईबर सुरक्षा र अपराधलाई पनि स्पष्ट पार्ने छ,’ सहायक प्रवक्ता ओझाले टेक्नोलोजीखबरलाई भनिन् ।
उनकाअनुसार देशको साईबर सुरक्षाका साथै प्रत्येक नागरिकको साईबर सुरक्षालाई कसरी प्रत्याभूत गर्ने भन्ने विषयलाई समेत सम्बोधन गर्ने गरि आउनेछ ।
सो नीतिले ह्याकिङ्ग, सामाजिक सञ्लाजबाट हुने अपराध, डाटाको सुरक्षा लगायतका विषयहरु समेट्ने सहायक प्रवक्ता ओझाले जानकारी दिईन् ।
मन्त्रालयले चालु आर्थिक वर्षभित्रै साईबर नीति जारी गर्ने योजना लिएको छ भने सो लगत्तै साईबरसम्बन्धि कानूनहरु ल्याउने योजना छ ।
हाल नेपालमा साईबर सुरक्षा र साईबर अपराधको स्पष्ट कानून नहुँदा विद्युतिय कारोबार ऐन अन्तरगत प्रहरीले कारबाही गर्दै आएको छ। तर सो कानून कारोबारको लागि मात्र ल्याईएको र सो ऐनको दूरुपयोग भएको भन्दै सरोकारबालाहरुले पटक पटक आवाज उठाउँदै आएको छन्।
प्रकाशित: ६ पुष २०७७, सोमबार