कक्षा १० सम्मका विद्यार्थीका लागि ईक्लास नेपाल एप सार्वजनिक

  • Technology Khabar | २४ मंसिर २०७७, बुधबार
कक्षा १० सम्मका विद्यार्थीका लागि ईक्लास नेपाल एप सार्वजनिक

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका लागि ‘ई–कक्षा(ईक्लास) नेपाल’ नामको मोबाइल एप सार्वजनिक गरेको छ ।

भर्चुअल कार्यक्रम मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ईक्लास नेपाल एपको उद्घाटन गरेका हुन् ।

एपको थालनी गर्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले कोरोना भाइरसपछि नयाँ तरिकाले शैक्षिक क्षेत्र अघि बढानुपर्ने अवस्था रहेको बताए । कक्षा १० सम्मका अनिवार्य विषयका सामग्री राखिएको मोबाइल एप विद्यालय तथा शिक्षक समक्ष पुर्याउने सरकारको योजना रहेको उनको भनाइ छ ।

सामान्य मोबाइल र इन्टरनेटको सहायतामा यस एपमा गएर पढ्ने सामग्री उपलब्ध हुने भएकाले यसबाट मुख्य गरी विद्यार्थी लाभान्वित हुने बताईएको छ ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विद्यार्थी शिक्षकको सिकाइ अभिवृद्धि गर्न मोबाइल एप उपयोगी हुने विचार व्यक्त गरे ।

शिक्षा विभागका महानिर्देशक वैकुण्ठ अर्यालले पाठ्यक्रम, पाठ्यपुस्तक, विभिन्न खालका सिकाइ सामग्री पढ्न मिल्ने गरी एप निर्माण गरिएको जानकारी दिए ।

ईक्लास नेपाल एपमा यस अघि नै तयार भएका भिडियोहरु र कक्षागत रुपमा पाठ्यक्रम लगायतका सामग्रीहरु राखिएको छ।

एपमा शिक्षक निर्देशिका, टेक्ट बुक (पीडीएफ फर्म्याटका पुस्तक) विद्यार्थी मूल्याङ्कन सामग्रीलाई व्यवस्थित रुपमा राखिएको छ ।

शिक्षक निर्देशिकामा भने शिक्षकबाट रजिस्टर गरेपछि मात्र पहुँच पाउन सकिनेछ । एपमा नमूना प्रश्नपत्र समेत राखिएका छन् ।

कक्षा १ देखि कक्षा १० सम्मका अनिवार्य विषय समावेश गरिएको एप एन्ड्रोइड मोबाइलबाट शिक्षक तथा विद्यार्थीले प्रयोग गर्न सक्ने छन् । उक्त एपमा विद्यार्थीका लागि पाठ्य सामग्री र शिक्षकका लागि शिक्षक निर्देशिका, मूल्यांकन विधि लगायका वैकल्पिक शैक्षिक सामग्री समावेश गरिएको छ ।

एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको एप छिटै आइओएसमा समेत उपलब्ध हुने बताईएको छ । ईक्लास मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गरेर प्रयोग गर्नुहोस् ।

प्रकाशित: २४ मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार