जूमको प्रो एनुअल सेवामा २० प्रतिशत छुट, निशुल्क ग्राहकलाई सशुल्क बनाउने अभियान

Technology Khabar १३ आश्विन २०७७, मंगलवार

काठमाडौं ।

भिडियो कन्फरेन्सिङ्ग एप जूमले नयाँ सिजनको अवसर पारेर नयाँ ग्राहक योजना ल्याएको छ । जूम भिडियो कम्युनिकेशन्स इंकले अहिलेका निशुल्क ग्राहकहरुलाई सशुल्क सेवाग्राहीको रुपमा परिवर्तन गर्नेगरि योजना ल्याएको हो ।

कम्पनीले जूममा लगइन गरेर निशुल्क सेवा प्रयोग गरिरहेकाहरुलाई इमेल नोटिफिकेसन पठाउँदै २० प्रतिशत छुटमा सेवा लिनसकिने उल्लेख गरेको छ ।

कम्पनीले न्यू सिजन बिग सेभिंग्स नाममा नयाँ सशुल्क ग्राहकहरुका लागि २० प्रतिशतको अफर ल्याएको हो । यसअफरमा कम्पनीले जूमका ग्राहकहरुलाई सशुल्क सेवा लिँदा पहिलो वर्षको प्रो एनुअल सदस्यतामा २० प्रतिशत छुट दिने भएको हो ।

जूममा हामीहरु तपाईँको लागि दैनिक जीवनको अत्यावश्यक वस्तु भएकोमा गर्व गर्दछौं, धन्यवाद भन्नको लागि तपाईँको पहिलो वर्षको प्रो एनुअलमा २० प्रतिशत छुटको मज्जा लिनुहोस्, कम्पनीले ईमेल नोटिफिकेसनमा भनेको छ ।

यसका साथै सो प्रो एनुअलअन्तरगत २० प्रतिशत छुटका साथमा अनलिमिटेड ग्रुप मिटिङ्ग मिनेटहरु उपलब्ध हुने, क्लाउड रेकर्डिंग्स, र अन्य धेरै सुबिधा पाईने उल्लेख गरेको छ ।

कम्पनीले यो सुबिधा केबल २९ र ३० सेप्टेम्बर तथा १ अक्टोबरभित्र मात्र लागु हुने र अक्टोबर १ मध्यरातदेखि समाप्त हुने जनाएको छ।

यो अफर नयाँ ग्राहकहरुको लागि प्रो एनुअल प्लान अनलाइन खरिद गर्दा मात्र लागू हुने जानकारी दिएको छ भने एकजनाले अधिकतम ९ वटा एनुअल लाइसेन्स खरिद गर्न सकिने उल्लेख छ।

प्रो एनुअल अफर अन्तरगत कम्पनीले मासिक १४.९९ अमेरिकी डलरमा नै जूम सेवा दिनेछ । जसको वार्षिक मूल्यको आधारमा एकमुस्ट रकम तिर्दा भने ३० प्रतिशतसम्मको छुट पाईने र यसको मासिक शुल्क १२.४९ अमेरिकी डलर मात्र पर्ने उल्लेख छ । जसमा वार्षिकरुपमा १४९.९० अमेरिकी डलर शुल्क पर्नेछ।

सो सेवा अन्तरगत असिमित समयसम्म मिटिंगहरु आयोजना गर्न सकिनेछ भने प्रत्येक मिटिंगमा १०० जनासम्म सहभागी गराउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १३ आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया