विश्व नवप्रवर्तनको क्षेत्रमा नेपाल ९५ औं स्थानमा उक्लियो, सार्क देशहरुमध्ये भारतपछि दोस्रो

  • Technology Khabar | १८ भाद्र २०७७, बिहीबार
विश्व नवप्रवर्तनको क्षेत्रमा नेपाल ९५ औं स्थानमा उक्लियो, सार्क देशहरुमध्ये भारतपछि दोस्रो

काठमाडौं ।

ग्लोबल इनोभेसन इन्डेक्समा नेपालले आफ्नो स्थान उल्लेख्यरुपमा सुधार गरेको छ । हालै सार्वजनिक भएको ग्लोबल इनोभेसन इन्डेक्स (विश्व नवप्रवर्तक सूचाङ्क) २०२० को प्रतिवेदनअनुसार नेपाल ९५ औं स्थानमा उक्लेको छ।

यो सूचीले विभिन्न मुलुकहरुमा रहेका स्टार्टअप र नवप्रवर्तनको अवस्था र वातावरणलाई अध्ययन गरेर सार्वजनिक गर्दछ ।

नेपालले एक वर्षमा नै आफ्नो स्थानलाई १२ औं स्थान माथि उचालेको छ । यसअघि नेपाल सन् २०१९ मा १०७ औं स्थानमा थियो ।

सन् २०२० मा वर्ल्ड इन्टलेक्च्युल प्रोपटी अर्गनाइजेसनले निकालेको नयाँ रिपोर्ट अनुसार नेपाल ९५ औं स्थानमा उक्लिएको हो ।

संयुक्त राष्ट्रसंघ अन्तरगत रहेको वर्ल्ड इन्टलेक्च्युल प्रोपटी अर्गनाइजेसनले अमेरिकाको कोर्नेल विश्विविद्यालयसँगको सहकार्यमा प्रत्येक वर्ष सेप्टेम्बरमा जीआईई इन्डेक्स सार्वजनिक गर्दै आएको छ ।

जिआईई इन्डेक्समा स्वीजरल्याण्ड पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा स्वीडेन र तेस्रो स्थानमा अमेरिका रहेको छ ।

सूचीमा सार्क मुलुकहरुमध्ये भारत ४८ औं स्थानमा छ भने श्रीलंका १०१ औं, पाकिस्तान १०७ औं तथा बंगलादेश १०६ औं स्थानमा रहेका छन् ।
भारतपछि सार्क मुलुकहरुमा स्टार्टअपहरुलाई सहयोग गर्ने देशमा नेपालको सूची रहेको छ ।

यसका साथै न्यून आय भएका देशहरुमध्ये नेपाल तेस्रो स्थानमा रहेको छ भने मध्य तथा दक्षिण एशियामा छैटौं स्थानमा रहेको छ।

प्रकाशित: १८ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार