सेयर कारोबारमा रहेको विद्युतीय भुक्तानीको सीमा हटाईयो

  • Technology Khabar | १० असार २०७७, बुधबार
सेयर कारोबारमा रहेको विद्युतीय भुक्तानीको सीमा हटाईयो

काठमाडौं ।

सेयर कारोबारको लागि विद्युतीय भुक्तानी गर्दा विद्यमान सीमा लागू नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि सेयर कारोबारमा सो सीमा हटाएको हो ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रअनुसार कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिले सहजरूपमा आवागमन हुन सकेकाले अर्को व्यवस्था नभएसम्मका लागि हाल सेयर कारोबारमा विद्युतीय कारोबारको सीमा हटाइएको उल्लेख छ।

अब नयाँ व्यवस्थाअनुसार सेयर कारोबार गर्दा मोबाइल बैंकिङमार्फत प्रतिपटक १ लाख र इन्टरनेट बैंकिङमार्फत प्रतिपटक १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ । त्यसैगरि सो सीमामा रहेर लगानीकर्ताले एकै दिनमा जति पटक पनि कारोबार गर्न सक्नेछन् ।

राष्ट्र बैंकले हाल मोबाइल बैंकिङका लागि प्रतिदिन एक लाख, प्रतिमहिना १० लाख तथा इन्टरनेट बैंकिङमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रुपैयाँ बराबर कारोबार गर्न पाईने सीमा तोकेको छ ।

यसअघि सेयर कारोबारमा ठूलो रकम कारोबार गर्नुपर्ने भएकाले हालको सीमा हटाउन नेपाल धितोपत्र बोर्डसहित सरोकारवालाहरूले आग्रह गरेका थिए । सोही आग्रहअनुसार राष्ट्र बैंकले सीमा लागु नहुने भनेको हो ।

राष्ट्र बैंकले सेयर कारोबारमा सीमा हटाए पनि जोखिमको आँकलन गरी बैंक तथा वित्तीय संस्थाले भने आन्तरिक सीमा तोक्न सक्नेछन् । यसकारण अब सेयर कारोबारमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा हुने कारोबार सीमा बैंक तथा वित्तीय संस्थाको निर्णयमा भर पर्नेछ ।

‘कोभिड–१९ को महामारीका कारण पर्न गएको असहजताका कारण अर्को व्यवस्था नभएसम्मका लागि धितोपत्र दलालहरूसँग सेयर कारोबार गरेबापत सेवाग्राहीले ग्राहकबाटरलाई प्रतिभुक्तानी कारोबार मोबाइल बैंकिङमा अधिकतम १ लाख र इन्टरनेट बैंकिङमा प्रतिभुक्तानी १० लाखका हिसाबले रकम भुक्तानी गर्न र प्राप्त गर्न,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यसअघि कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न भनेर राष्ट्र बैंकले चैतदेखि विद्युतीय कारोबारको सीमा बढाएको थियो ।

अहिले मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न पाइन्छ । मासिक सीमा १० लाख रुपैयाँ छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिकरूपमा ३० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एक दिनमा १ लाख र महिनामा ५ लाखसम्म कारोबार गर्न सकिन्छ ।

प्रकाशित: १० असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १० असार २०७७, बुधबार