मुद्दाहरूले मलेसियामा गुगलको लगानीलाई असर नगर्ने प्रधानमन्त्रीको भनाइ
काठमाडौं ।
मलेसियामा हानिकारक अनलाइन सामग्री नियन्त्रण गर्न असफल भएको आरोपमा गुगलविरुद्ध दायर गरिएको मुद्दाले उक्त अमेरिकी प्रविधि कम्पनीको मलेसियास्थित लगानीमा कुनै असर नपार्ने प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार बताएका छन्।
मलेसियाको सञ्चार तथा मल्टिमिडिया आयोग (एमसीएमसी) ले बुधबार गुगलविरुद्ध १४ करोड ६० लाख डलरको मुद्दा दायर गरेको जनाएको छ।
यस मुद्दाले दक्षिणपूर्वी एसियाली राष्ट्र मलेसियामा डाटा सेन्टर र अन्य पूर्वाधार निर्माणका लागि अर्बौं डलर लगानी गर्ने कम्पनीको योजनामा कतै असर पर्ने त होइन भन्ने चिन्ता उब्जाएको छ।
शुक्रबार यस कानुनी कदमको बचाउ गर्दै प्रधानमन्त्री अनवरले गुगलले गुनासोहरूको सुनुवाइ गर्न ढिलाइ गरेको र कतिपय गुनासाहरूको त आधा वर्ष बितिसक्दा पनि कुनै जवाफ नदिएको बताए।
राजधानी क्वालालम्पुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “यी मुद्दाहरूले (लगानीमा) कुनै असर पार्ने छैनन्।”
“हामीले अनलाइन जुवासम्बन्धी केही घटनाहरूबारे जानकारी गराएका थियौं, तर छ महिना बितिसक्दा पनि कुनै कारबाही गरिएको छैन।”
एमसीएमसीको आरोप छ कि गुगलको स्वामित्वमा रहेको युट्युबले आफ्नो प्लेटफर्ममा हुने अनलाइन जुवा, ठगी र जालसाजीलाई सम्बोधन गर्न पर्याप्त कदम चालेन। साथै, एक विवादास्पद स्थानीय ब्लगरद्वारा प्रकाशित हानिकारक सामग्रीविरुद्ध पनि कम्पनीले कुनै सक्रिय कदम नचालेको आयोगको दाबी छ।
गुगलले यसै महिना मलेसियामा आगामी दुई वर्षभित्र डाटा सेन्टर र अन्य पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेको छ। यो सन् २०२४ मा सार्वजनिक गरिएको २ अर्ब डलरको लगानी योजनाकै विस्तार हो।
मलेसिया दक्षिणपूर्वी एसियामा नयाँ डाटा सेन्टरहरूका लागि सबैभन्दा तीव्र गतिमा विकास भइरहेको केन्द्र बन्दैछ। यी डाटा सेन्टरहरूमा ठूलो संख्यामा सर्भरहरू राखिएका हुन्छन्, जसले च्याटबट र तस्बिर सिर्जना गर्ने टूलहरु जस्ता एआई प्रविधिहरूलाई तालिम दिन र सञ्चालन गर्न मद्दत गर्छन्।
प्रधानमन्त्री अनवरले बिहीबार गुगलकी अध्यक्ष तथा प्रमुख लगानी अधिकृत रुथ पोराटसँग कुराकानी भएको जानकारी दिए।
उनले भने, “मैले हिजो रुथ पोराटसँग सम्पर्क गरेको थिएँ र उनले मलाई बताइन् कि यी समस्याहरू समाधान गर्न गुगलले सहयोग गर्नेछ।”
यसअघि पनि मलेसियाले टिकटक लगायत अन्य प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूविरुद्ध कारबाही अघि बढाएको थियो। ती प्लेटफर्महरूमाथि “अत्यन्त आपत्तिजनक” मानिएका सामग्रीहरू हटाउन असफल भएको आरोप लागेको थियो।