ताजा समाचार

प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्चमा ठूलो वृद्धि

प्रविधि पूर्वाधारमा लगानी बढ्दा अस्ट्रेलियाको पुँजीगत खर्चमा ठूलो वृद्धि
अस्ट्रेलियाली शहर, सिड्नी। फाइल तस्बिर
Global IME Bank

तथ्याङ्क केन्द्र निर्माण तथा त्यसका लागि आवश्यक उपकरणमा व्यवसायीहरूले ठूलो लगानी बढाएपछि अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च १५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ।

बिहीबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा समाप्त त्रैमासिक अवधिमा अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च अघिल्लो त्रैमासिकको तुलनामा १२.२ प्रतिशतले बढेको छ । सन् २०११ यताकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि भएको यो तथ्याङ्क हो ।

अस्ट्रेलियाली तथ्याङ्क विभागका व्यावसायिक तथ्याङ्क प्रमुख रोबर्ट इविङका अनुसार तथ्याङ्क केन्द्रका लागि आवश्यक उपकरणमा भएको उल्लेखनीय लगानीका कारण पुँजीगत खर्चमा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्च १८.६ प्रतिशतले बढेको उनले बताए।

उनका अनुसार सन् २०२५ को सेप्टेम्बर त्रैमासिकदेखि नै व्यवसायीहरूले ठूलो परिमाणमा सर्भर र्याक तथा तथ्याङ्क प्रशोधन गर्ने उपकरण खरिद गर्न थालेपछि समग्र लगानीमा तीव्र वृद्धि देखिएको हो ।

इविङले पछिल्लो त्रैमासिकमा भएको वृद्धि सन् २०११ को सेप्टेम्बरपछि सबैभन्दा उच्च रहेको बताए। सन् २०११ मा खानी क्षेत्रमा भएको ठूलो लगानीका कारण अस्ट्रेलियाको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि भएको थियो।

पछिल्लो तथ्याङ्कअनुसार सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा सबैभन्दा बढी लगानी वृद्धि भएको छ। उक्त क्षेत्रमा सेप्टेम्बर त्रैमासिकमा लगानी ८६.७ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।

त्यसैगरी नयाँ उपकरण तथा मेसिनरी खरिदमा हुने खर्च २३.१ प्रतिशतले बढेको छ। यसमा सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा भएको १८३.५ प्रतिशतको लगानी वृद्धिको प्रमुख योगदान रहेको अस्ट्रेलियाली तथ्याङ्क विभागले जनाएको छ।

भवन तथा संरचना निर्माणमा हुने खर्च पनि समीक्षा अवधिमा १.७ प्रतिशतले बढेको छ। विद्युत्, ग्यास, पानी तथा फोहोर व्यवस्थापन सेवासँग सम्बन्धित क्षेत्र र सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा भवन निर्माणसम्बन्धी लगानी अहिलेसम्मकै उच्च पुगेको तथ्याङ्कले देखाएको छ।

इविङका अनुसार भवन तथा संरचनामा भएको लगानी वृद्धिमा नवीकरणीय ऊर्जा परियोजना र तथ्याङ्क केन्द्र निर्माणको महत्त्वपूर्ण योगदान रहेको छ । यस्ता परियोजनासँग सम्बन्धित विद्युत् भण्डारण तथा प्रसारण पूर्वाधार निर्माणले पनि लगानी वृद्धि गर्न सहयोग पुर्‍याएको उनले बताए।

पछिल्लो समय तथ्याङ्क केन्द्रहरूको विस्तारसँगै सर्भर, तथ्याङ्क प्रशोधन उपकरण, विद्युत् आपूर्ति तथा भण्डारण प्रणालीमा व्यवसायीहरूको लगानी बढिरहेको छ। यसले अस्ट्रेलियाको निजी क्षेत्रको पुँजीगत खर्चमा समेत उल्लेखनीय प्रभाव पारेको सरकारी तथ्याङ्कले देखाएको छ। रासस/सिन्ह्वा

Sajilo Visa
easy care