अमेजनको कार बिक्री सेवा पहिलोपटक अमेरिकाबाहिर पुग्यो, बेलायतमा विस्तार हुँदै
काठमाडौं ।
अमेजनले आगामी वर्षको सुरुदेखि बेलायतमा कार बिक्री सुरु गर्ने भएको छ। यससँगै कम्पनीको ‘अमेजन अटोज’ सेवा पहिलोपटक अमेरिकाबाहिर विस्तार हुन लागेको हो।
यस सेवामार्फत ग्राहकले नयाँ तथा पुराना कारका मोडेल हेर्न, वित्तीय सुविधाका दर तुलना गर्न र गाडी आरक्षित गर्न सक्नेछन्। यद्यपि, खरिद प्रक्रिया पूरा गर्न भने ग्राहकले सम्बन्धित डिलरकहाँ नै पुग्नुपर्नेछ। अमेरिकामा सेवा सुरु गर्दा जस्तै बेलायतमा पनि हुन्डाई पहिलो घोषित साझेदार बनेको छ। बेलायतको कार डिलर कम्पनी भर्टु मोटर्स पनि यस सेवामा सहभागी हुनेछ। आगामी महिनाहरूमा थप गाडी निर्माता र डिलरहरूलाई साझेदारका रूपमा घोषणा गरिने अमेजनले जनाएको छ।
अमेजन अटोजका अन्तर्राष्ट्रिय निर्देशक म्याट नफोर्टले भने, “कार खरिद गर्नु मानिसहरूले गर्ने सबैभन्दा ठूलो खरिदमध्ये एक हो। त्यसैले अमेजनमा अन्य सामान किनेजस्तै कार खरिद प्रक्रिया पनि सरल र पारदर्शी हुनुपर्छ भन्ने हाम्रो विश्वास छ। हामीले बेलायती डिलरहरूसँग मिलेर यो सेवा तयार गरेका हौँ र खरिदका लागि तयार ग्राहक उनीहरूसम्म पुर्याउन पाउँदा डिलरहरू उत्साहित छन्।”
अमेरिकामा जस्तै बेलायतमा पनि ग्राहकले कारको कम्पनी, मोडेल, रङ र मूल्यका आधारमा गाडी खोज्न सक्नेछन्। साथै, पर्सनल कन्ट्र्याक्ट पर्चेज, हायर पर्चेज र नगद भुक्तानीका विकल्प तुलना गर्न सक्नेछन्। अमेजनले मूल्यमा पारदर्शिता, पुरानो गाडी साट्दा तत्काल मूल्यांकन र नजिकैका डिलरहरूको विवरण उपलब्ध गराउने जनाएको छ।
इन्ग्याजे६का अनुसार यस सेवामा अमेजनले अनलाइन बिक्री केन्द्रका रूपमा काम गर्नेछ। गाडीको अन्तिम बिक्री प्रक्रिया र वित्तीय कारोबार भने सम्बन्धित डिलरले नै व्यवस्थापन गर्नेछन्।
अमेरिकामा अमेजन अटोस् सेवामार्फत उपलब्ध नयाँ तथा पुराना गाडीका ब्रान्ड र मोडेल क्षेत्र तथा सहभागी डिलरअनुसार फरक छन्। हाल यस वेबसाइटमा नयाँ र पुराना दुवै प्रकारका गाडी बिक्री गर्ने १४ वटा ब्रान्ड तथा पुराना गाडी मात्रै बिक्री गर्ने थप २१ वटा ब्रान्ड उपलब्ध छन्। यसरी कुल ३५ वटा ब्रान्डका गाडी यस सेवामा समेटिएका छन्।
सेवा सुरु हुँदा अमेरिकाका ४८ सहरमा उपलब्ध रहेको अमेजन अटोस् अहिले १५० भन्दा बढी सहरमा विस्तार भइसकेको छ। यसले हजारौँ डिलरसँग सहकार्य गरिरहेको छ।
अमेजनले डिलरहरूलाई खरिदका लागि योग्य ठहरिएका ग्राहक उपलब्ध गराउँछ तर गाडी बिक्रीमा कमिसन लिँदैन। कम्पनीको आम्दानी विज्ञापनमा आधारित सदस्यता शुल्क र विज्ञापनबाट हुने गरेको अमेजन अटोस्को प्रश्नोत्तर पृष्ठमा उल्लेख छ।
यसै वर्षको सुरुमा अटोमोटिभ न्युजले सार्वजनिक गरेको एक रिपोर्टअनुसार केही अमेरिकी डिलरहरूले अमेजनबाट ठोस व्यावसायिक परिणाम आउन ढिलाइ भइरहेको बताएका थिए। उनीहरूका अनुसार अमेजनमार्फत महिनामा एक वा दुईवटा मात्रै गाडी बिक्री भइरहेको थियो।