‘एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै’
काठमाडौं ।
कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी आर्थिक, रणनीतिक तथा सैन्य शक्ति संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याइरहेको अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले बताएकी छिन्।
मंगलबार संघीय संसद्मा सम्बोधन गर्दै उनले एआई तथा अन्य उदीयमान प्रविधिको तीव्र विकासले मानव जीवन, अर्थतन्त्र र सैन्य संरचनामा नयाँ आयाम थपिरहेको उल्लेख गरिन। उनका अनुसार यी प्रविधिहरू विगतका क्रान्तिकारी प्रविधिभन्दा तीव्र गतिमा विस्तार भइरहेका छन् र तिनको दीर्घकालीन प्रभाव पूर्ण रूपमा अनुमान गर्न कठिन छ।
विदेशमन्त्री वोङले अत्याधुनिक एआई विकासको प्रतिस्पर्धामा तीव्र गतिलाई मात्र प्राथमिकता नदिई सुरक्षा, सावधानी र जिम्मेवारीलाई समेत महत्त्व दिनुपर्नेमा जोड दिइन। यसका लागि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै विभिन्न देशबीच विश्वास अभिवृद्धि र प्रविधिसम्बन्धी समस्याको समाधानमा साझा प्रयास गर्ने नीति लिएको बताएकि छन्।
यसैबीच, अस्ट्रेलिया सरकारले एआई विकासकर्ताका लागि नयाँ अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। उक्त व्यवस्थाअनुसार कम्पनीहरूले सुरक्षा उल्लङ्घनबारे जानकारी गराउनुपर्ने र आफ्ना एआई मोडेलको स्वतन्त्र सुरक्षा मूल्याङ्कन गराउन सकिनेछ।
नियम कार्यान्वयनका लागि छुट्टै नियामक निकाय स्थापना गरिने तथा नियम उल्लङ्घन गर्ने कम्पनीमाथि आर्थिक जरिवाना लगाउन सकिने व्यवस्था गरिनेछ।
वोङले अस्ट्रेलिया एआई प्रविधिमा लगानी र नवप्रवर्तनको स्वागत गर्ने पक्षमा रहेको उल्लेख गर्दै त्यसबाट सबै अस्ट्रेलियाली नागरिकले लाभ प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी छन्।–रासस