एप्लिकेसन

एआई निगरानीको ‘अस्तित्वजन्य खतरा’ सामना गर्न मोबाइलमा स्क्रिनसट लिन प्रतिबन्ध लगाउँदै सिग्नल

एआई निगरानीको ‘अस्तित्वजन्य खतरा’ सामना गर्न मोबाइलमा स्क्रिनसट लिन प्रतिबन्ध लगाउँदै सिग्नल
Global IME Bank

सुरक्षित मेसेजिङ एप सिग्नलले प्रयोगकर्तालाई एपभित्र स्क्रिनसट लिन सक्ने सुविधामा सीमा लगाउने घोषणा गरेको छ। एआईमा आधारित एजेन्ट समावेश गरिएका अपरेटिङ सिस्टमबाट उत्पन्न गोपनीयतासम्बन्धी जोखिमलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबार यस्तो घोषणा गरेको हो।

सिग्नलकी अध्यक्ष मेरिडिथ ह्विटेकरले एआई एजेन्टमा आधारित अपरेटिङ सिस्टमलाई ‘अस्तित्वगत खतरा’ को संज्ञा दिएकी छन्।

उनका अनुसार, एआई एजेन्टलाई प्रयोगकर्ताको स्क्रिनमा देखिने सूचना स्क्यान गर्ने क्षमता दिँदा विन्डोज, एन्ड्रोइड र म्याकओएस/आईओएस जस्ता अपरेटिङ सिस्टमले प्रयोगकर्ताको गोपनीयता स्वतन्त्र रूपमा सुनिश्चित गर्ने सिग्नलको क्षमतालाई कमजोर बनाइरहेका छन्।

“एआई एजेन्टका क्षमता विस्तार गर्ने उद्देश्यले अहिले प्रयोगकर्ताका संवेदनशील डाटा संकलन, भण्डारण र अपरेटिङ सिस्टमस्तरमा काम गर्ने एआई एजेन्टले प्रयोग गरिरहेको स्थानीय डेटाबेस वा टाढाको सर्भरमा उपलब्ध गराइँदै छ,” उनले भनिन्।

उनका अनुसार एकपटक डाटा संकलन भएपछि त्यसमा सिग्नलको नियन्त्रण रहँदैन। यसले कुराकानीमा सहभागी सबै व्यक्तिको गोपनीयतामाथि जोखिम सिर्जना गर्छ।

टेकक्रञ्चका अनुसार सिग्नलले यसअघि नै आफ्नो विन्डोज एपमा पूर्वनिर्धारित रूपमा स्क्रिनसट लिन रोक लगाएर यस्ता जोखिम कम गर्ने प्रयास गरेको थियो। अब कम्पनीले एन्ड्रोइड र आईओएसमा पनि यस्तै प्रतिबन्ध लागू गर्न लागेको छ।

यद्यपि, प्रयोगकर्ताले चाहेमा यो सेटिङ बन्द गर्न सक्नेछन्। तर, त्यसो गर्दा सिग्नलले सुनिश्चित गर्दै आएको गोपनीयताको प्रत्याभूति कमजोर हुने ह्विटेकरले बताएकी छन्।

उनले यो समाधान पनि पूर्ण नभएको स्वीकार गरेकी छन्। उनका अनुसार, यसले एआई एजेन्टले एपको डेटा पहुँच गर्न सक्ने अन्य अप्रत्यक्ष तरिकाहरूलाई सम्बोधन गर्दैन।

Sajilo Visa
easy care