ताजा समाचार

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ
Global IME Bank

नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन्। सैनिक मुख्यालयमा आज पत्रकारहरूसँग अन्तर्क्रियाका क्रममा नवनियुक्त प्रवक्ता तथा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक श्रेष्ठले राष्ट्र र जनताको सेवामा समर्पित रही राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्ने बताएका हुन्।

उनले भने, “नेपाली सेना प्रेससँग समन्वय र सहकार्यमा अघि बढिरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन्छ । सदा सूचनाको हकलगायत नागरिक स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध सेनाले विकास निर्माण लगायत अन्य सैन्य गतिविधिहरू मिडिया मार्फत् समयमै सार्वजनिक गर्नेछ।” उनले नेपाली सेना र नेपाली सञ्चारमाध्यमकाबीचको सम्बन्ध सदैव व्यावसायिक र सुमधुर रही आएको पनि स्पष्ट गरे।

उनले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा समेत यदाकदा भ्रमपूर्ण र मिथ्या सूचना आउने गरेको बताउँदै यस्तो गलत प्रवृत्तिलाई सबैले मिलेर रोक्नुपर्ने धारणा पनि राखे।

राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले जस्तै नेपालका आमसञ्चारकर्मीहरूले पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा पनि गरे।

सो कार्यक्रममा नेपाली सेनाका निवर्तमान प्रवक्ता राजाराम बस्नेतले सुरक्षा र सूचनाका बीचको सम्बन्ध अन्योन्याश्रित रहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली मिडिया जगतले सधैँ नेपाली सेनासँग समन्वय गरेर सूचना प्रवाह गर्ने गरेको चर्चा गरे।

त्यस अवसरमा वरिष्ठ पत्रकार बबिता बस्नेतले पछिल्ला वर्षमा राष्ट्रिय सुरक्षा लगायत अन्य कतिपय संवेदनशील विषय र क्षेत्रहरूमा प्रेस र सेनाबीचको समन्वय र सहकार्यले भ्रमपूर्ण र मिथ्या सूचना नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्ने गरेको धारणा राखिन्। रासस 
Sajilo Visa
easy care