प्रविधि

कोडिङ र साइबर सुरक्षाका लागि माइक्रोसफ्टले ल्यायो नयाँ एआई मोडेल

कोडिङ र साइबर सुरक्षाका लागि माइक्रोसफ्टले ल्यायो नयाँ एआई मोडेल
Global IME Bank

माइक्रोसफ्टले कोडिङ र साइबर सुरक्षामा विशेष क्षमता भएका नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेको छ। एआई क्षेत्रमा एन्थ्रोपिक र ओपनएआईजस्ता प्रतिस्पर्धीलाई चुनौती दिने रणनीतिअन्तर्गत कम्पनीले नयाँ मोडेलहरू ल्याएको हो।

अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित माइक्रोसफ्ट इग्नाइट सम्मेलनमा कम्पनीले ‘एमएआई कोड २’ (MAI Code 2) नामक प्रोग्रामिङसम्बन्धी एआई मोडेल सार्वजनिक गरेको छ। माइक्रोसफ्टका अनुसार यो मोडेलले प्रतिस्पर्धी एआई मोडेलको जस्तै कार्यक्षमता निकै कम लागतमा प्रदान गर्न सक्छ।

कम्पनीले साइबर सुरक्षाका लागि छुट्टै एआई मोडेल पनि विकास गरेको छ। सफ्टवेयरमा बढ्दै गएका सुरक्षा कमजोरी पहिचान र समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त मोडेल सीमित ग्राहकलाई उपलब्ध गराउने माइक्रोसफ्टको योजना छ।

यसका अतिरिक्त कम्पनीले तस्बिर निर्माण र आवाजलाई लिखित पाठमा रूपान्तरण गर्ने नयाँ एआई मोडेल पनि सार्वजनिक गरेको छ।

रोयटर्सका अनुसार माइक्रोसफ्टका एआई प्रमुख मुस्तफा सुलेमानले रोयटर्ससँगको कुराकानीमा विभिन्न कामका लागि छुट्टाछुट्टै विशेष मोडेल विकास गर्ने रणनीतिले लागत घटाउँदै प्रतिस्पर्धी मोडेलसँग कार्यक्षमतामा बराबरी गर्न सहयोग गरेको बताए। उनका अनुसार केही परीक्षणमा माइक्रोसफ्टका मोडेल प्रतिस्पर्धीभन्दा अगाडि पनि छन्।

उनले एआईको कार्यक्षमता मात्र नभई यसको सुरक्षित प्रयोगलाई पनि प्राथमिकतामा राखिएको बताए। विशेषगरी एआईले हानिकारक काम गर्न नपाउने र निर्धारित उद्देश्यअनुसार मात्रै काम गर्ने सुनिश्चित गर्नु कम्पनीको प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ।

ओपनएआईका एआई एजेन्टहरूले हगिङ फेस प्लेटफर्ममा ह्याकिङ गतिविधि गरेको घटनापछि एआई सुरक्षाको विषय थप महत्त्वपूर्ण बनेको सुलेमानले उल्लेख गरेका छन्।

एआई प्रणालीलाई मानवीय उद्देश्य र मूल्यअनुरूप व्यवहार गर्न सुनिश्चित गर्ने अनुसन्धान क्षेत्रलाई ‘अलाइनमेन्ट’ भनिन्छ। सुलेमानका अनुसार यसलाई सुरक्षित बनाउनु उनको प्रमुख प्राथमिकता हो।

Sajilo Visa
easy care