बीएस्सी प्रथम वर्षको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत चारवर्षे स्नातक तह (बीएस्सी) प्रथम वर्ष २०८२ को नियमित परीक्षाको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई निर्देशन दिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क तथा हाजिरी बुझाउन बाँकी रहेका सम्बन्धित क्याम्पस तथा कलेजले मंसिर १९ गतेभित्र बुझाइसक्नुपर्नेछ।
क्याम्पस तथा कलेजहरूले उक्त विवरण बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको विज्ञान समूह शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
त्रिविले सम्बन्धित क्याम्पस तथा कलेजका साथै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय (क्षे.प.नि.का.) र बाह्य परीक्षकहरूलाई पनि तोकिएको समयभित्र विवरण बुझाउने व्यवस्थाका लागि अनुरोध गरेको छ।
निर्धारित समयभित्र प्रयोगात्मक परीक्षाको प्राप्तांक तथा हाजिरी प्राप्त नभएमा त्यसको जिम्मेवारी सम्बन्धित क्याम्पस, कलेज, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र बाह्य परीक्षक स्वयंले लिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ।