कर्णाली र सुदूरपश्चिममा डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल
काठमाडौं ।
डिजिटल राइट्स नेपालले डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।
संस्थाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकदिने आवासीयबाहेकको तालिमका लागि आवेदन आह्वान गरेको थियो। गत कार्तिक २९ गतेसम्म आवेदनको म्याद रहेकोमा उक्त दिनसम्म आवेदन दिएका १८ देखि ३५ वर्ष उमेर समूहका न्यून योग्यता भएका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाजका संस्थाका प्रतिनिधिहरुलाई संस्थाले तालिम प्रदान गर्ने भएको हो।
आयोजकका अनुसार तालिम कर्णाली प्रदेशको सुर्खेतमा मंसिर ७ र ८ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १० र ११ गते हुनेछ।
सम्बन्धित प्रदेशको बासिन्दा वा सोही प्रदेशमा कार्यरत साथै डिजिटल तथा मिडिया साक्षरता, डिजिटल अधिकार, अनलाइन सुरक्षा वा नागरिक सहभागितामा रुचि भएकाहरुको लागि तालिम आयोजना गर्न लागिएको हो।
डिजिटल राइट्स नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा स्विस सरकारको विकास सहयोग नियोगको सहकार्यमा डिजिटल राइट्स एन्ड सेफ्टी स्कुल सञ्चालन गर्न लागेको हो।
तालिममा डिजिटल अधिकार, डिजिटल जोखिम र सुरक्षाका उपाय, सूचना अखण्डता तथा तथ्य जाँच, सामाजिक सञ्जालको जिम्मेवार उपयोग र कानुनी उपचार संयन्त्रका विषय समेटिनेछन्।