भेराइजनले टेम्स फ्रिपोर्टमा निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्यायो
काठमाडौं ।
अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले बेलायतको टेम्स फ्रिपोर्ट क्षेत्रमा निजी फाइभजी नेटवर्क जडान गर्ने काम पूरा गरेको छ।
युरोपकै सबैभन्दा ठूला निजी फाइभजी नेटवर्कमध्ये एक मानिएको यो परियोजना लन्डननजिकै रहेको टेम्स फ्रिपोर्ट क्षेत्रमा सञ्चालनमा आएको हो। यस क्षेत्रमा बन्दरगाह, सामान ढुवानी तथा भण्डारण केन्द्र र उत्पादन उद्योगहरू रहेका छन्। नेटवर्क सञ्चालनमा आएसँगै विभिन्न निजी फाइभजीमा आधारित सेवाहरूको परीक्षण सुरु गरिएको छ।
यो नेटवर्क टेम्स फ्रिपोर्ट विशेष आर्थिक क्षेत्रअन्तर्गतका पाँचवटा स्थानमा विस्तार गरिएको छ। प्रत्येक स्थानका सञ्चालकको आवश्यकता फरक रहेकाले सबैका लागि छुट्टाछुट्टै कोर नेटवर्क जडान गरिएको छ। यसले उनीहरूको फरक आवश्यकता पूरा गर्नुका साथै डेटा सार्वभौमिकता कायम राख्न सहयोग गर्नेछ।
यी पाँच स्थानमध्ये डीपी वर्ल्ड लन्डन गेटवे र डीपी वर्ल्ड लजिस्टिक्स पार्क पनि छन्। डीपी वर्ल्ड लन्डन गेटवे बेलायतकै सबैभन्दा ठूलो गहिरो समुद्री कन्टेनर बन्दरगाह हो। यससँगै जोडिएको लजिस्टिक्स केन्द्रमा पनि निजी फाइभजी नेटवर्क प्रयोग गरिनेछ।
यी स्थानमा सम्पत्तिको निगरानी, भिडियो विश्लेषण, स्वचालित प्रणाली, समन्वयात्मक कार्यप्रवाह र स्वचालनसम्बन्धी विभिन्न प्रविधि प्रयोग गर्ने योजना छ।
यसैगरी, बेलायतको प्रसिद्ध फोर्ड ड्याजेनहम कारखाना पनि यस नेटवर्कको प्रयोगकर्ता बनेको छ। विगत ९५ वर्षमा १ करोड १० लाख सवारीसाधन उत्पादन गरिसकेको यो कारखानाले उत्पादन प्रक्रियालाई थप बुद्धिमान बनाउन नेटवर्क प्रयोग गर्नेछ। यसले कनेक्टेड उपकरण, रोबोटिक्स र क्यामेरामा आधारित प्रणाली सञ्चालनमा सहयोग गर्नेछ।
टेलिकम्स डटकमका अनुसार अन्तिम प्रयोगकर्तामध्ये टिलबरी बन्दरगाह पनि रहेको छ। यसका दुई स्थानमध्ये सबैभन्दा ठूलो स्थानमा आपूर्ति शृङ्खलासँग सम्बन्धित १३५ कम्पनी सञ्चालनमा छन्। बन्दरगाहले सामान ओसारपसार, क्षेत्रको निगरानी, सुरक्षा प्रणाली, कनेक्टेड कामदार र सम्पत्तिको अवस्थाबारे जानकारी लिन निजी फाइभजी नेटवर्क प्रयोग गर्नेछ।
टेम्स फ्रिपोर्टका नवप्रवर्तन तथा सीप निर्देशक टम ह्वाइटले यो नेटवर्कले औद्योगिक गतिविधि निरन्तर सञ्चालन भइरहेका अवस्थामा पनि नयाँ प्रविधिको प्रयोग र परीक्षण गर्न सहयोग गर्ने बताए।
उनले भने, “यस परियोजनाले हाम्रा प्रमुख स्थानलाई एकसाथ नवप्रवर्तन गर्ने साझा प्लेटफर्म उपलब्ध गराएको छ। यसले व्यवसायहरूलाई नयाँ प्रविधि परीक्षण, अवलम्बन र विस्तार गर्न सहयोग गर्नुका साथै लगानी आकर्षित गर्न, नवप्रवर्तनलाई गति दिन र उच्च मूल्यका रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ।”
यो नेटवर्क ३.८ देखि ४.२ गिगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुन्छ। बेलायतको सञ्चार नियामक निकाय अफकमले भेराइजनलाई स्थानीयस्तरमा निजी फाइभजी नेटवर्क सञ्चालन गर्न उक्त फ्रिक्वेन्सीको लाइसेन्स उपलब्ध गराएको थियो।
यस सम्झौताको घोषणा हुँदा अमेरिकी दूरसञ्चार कम्पनीले बेलायतमा यति महत्त्वपूर्ण परियोजना प्राप्त गर्नु उल्लेखनीय मानिएको थियो। बेलायतको दूरसञ्चार बजारमा व्यावसायिक मोबाइल सेवामा बलियो उपस्थिति रहेको भोडाफोनजस्ता कम्पनी छन्। बीटीको स्वामित्वमा रहेको ईई पनि यस क्षेत्रमा सक्रिय छ।
भेराइजन बिजनेसका फाइभजी विस्तार उपाध्यक्ष रोब जुलियानोले टेम्स फ्रिपोर्टको परियोजनालाई जटिल औद्योगिक क्षेत्रमा निजी फाइभजी नेटवर्कको लचकता र विस्तार क्षमताको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
उनले भने, “टेम्स फ्रिपोर्टसँग मिलेर हामी स्वचालन, भौतिक एआई र भविष्यको औद्योगिक विकासका लागि डिजिटल आधार तयार गर्दैछौँ। यसले पूरै आर्थिक क्षेत्रलाई पुनर्जीवित गर्न सहयोग गर्नेछ। धेरै स्थानमा सञ्चालन भएका र जटिल आवश्यकता भएका अन्य उद्योगहरूले पनि यही प्रकारको निजी फाइभजी आधार तयार गरेर आफ्नो सञ्चालनमा परिवर्तन ल्याउन सक्छन्।”
नेटवर्कका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर नोकियाले उपलब्ध गराएको हो। यसमा नोकियाको इन्टरप्राइज क्याम्पस एज (ईसीई), डिजिटल अटोमेसन क्लाउड (डीएसी) प्लेटफर्म र एमएक्स इन्डस्ट्रियल एज (एमएक्सआईई) समावेश छन्।
नोकियाले आफ्नो व्यवसायमा कृत्रिम बुद्धिमतासम्बन्धी प्रविधिलाई प्राथमिकता दिँदै ईसीई व्यवसाय निजी इक्विटी कम्पनी अरेलियसलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइरहेको छ।
भेराइजनको यो परियोजनाले निजी फाइभजी नेटवर्कको व्यावसायिक सम्भावना देखाएको छ। एसटीएल पार्टनर्सले पनि यो क्षेत्र सन् २०३० सम्ममा ५८ प्रतिशतको वार्षिक चक्रवृद्धि दर (सीएजीआर) ले वृद्धि हुँदै २२ अर्ब डलरको बजार बन्ने अनुमान गरेको छ।
यस्तो अवस्थामा निजी फाइभजी बजारबाट नोकियाले आफ्नो व्यवसाय बिक्री गरेर बाहिरिने निर्णय गर्नु भने केही अस्वाभाविक देखिएको छ।