ताइवानी कम्पनी फक्सकनले तेस्रो त्रैमासिकमा ३४ प्रतिशतले बढायो नाफा, अनुमानभन्दा राम्रो
काठमाडौं ।
विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स उत्पादक ताइवानको फक्सकनले बिहीबार तेस्रो त्रैमासिकमा आफ्नो नाफा ३४ प्रतिशतले बढेको जनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी उपकरणको माग निरन्तर बलियो रहेकाले कम्पनीको नाफा विश्लेषकहरूको अनुमानभन्दा बढी भएको हो। कम्पनीले यही मागका कारण यस वर्ष र अर्को वर्ष पनि आफ्नो व्यवसायमा वृद्धि हुने अनुमान गरेको छ।
एनभिडियाका लागि सबैभन्दा ठूलो सर्भर निर्माता र एप्पलका लागि मुख्य आईफोन एसेम्बल गर्ने कम्पनी फक्सकनको जुलाईदेखि सेप्टेम्बरसम्मको खुद नाफा ७७ अर्ब ५० करोड ताइवानी डलर (२ अर्ब ३५ करोड अमेरिकी डलर) पुगेको छ।
यो एलएसईजीले गरेको ६९ अर्ब ६० करोड ताइवानी डलरको औसत अनुमानभन्दा बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५७ अर्ब ७० करोड ताइवानी डलर थियो।
आम्दानीसम्बन्धी विवरण सार्वजनिक गर्दै फक्सकनले यस वर्ष आम्दानीमा ‘बलियो वृद्धि’ हुने आफ्नो अघिल्लो अनुमानलाई यथावत् राखेको छ। कम्पनीले यस वर्षभरि र आगामी वर्षसम्म पनि एआईसम्बन्धी उपकरणको माग बलियो रहने जनाएको छ।
कम्पनीले आम्दानीको निश्चित संख्यात्मक अनुमान सार्वजनिक गर्दैन। तर, सन् २०२७ मा एआई र्याकको आपूर्तिमा उच्च दोहोरो अंकको वृद्धि हुने अनुमान गरेको छ।
औपचारिक रूपमा होन हाई प्रेसिजन इन्डस्ट्री नामले चिनिने फक्सकनले अक्टोबरमा तेस्रो त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले बढेको जनाएको थियो।
रोयटर्सका अनुसार एप्पलका लागि फक्सकनले बनाउने अधिकांश आईफोन चीनमा एसेम्बल गरिन्छन्। तर, अहिले अमेरिकामा बिक्री हुने अधिकांश आईफोन भारतमा उत्पादन गर्न थालिएको छ। कम्पनीले एनभिडियाका लागि एआई सर्भर उत्पादन गर्न मेक्सिको र अमेरिकाको टेक्सासमा पनि कारखाना निर्माण गरिरहेको छ। फक्सकनले विद्युतीय सवारीसाधनको क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गर्ने प्रयास गरिरहेको छ।
कम्पनीले बिहीबारपछि ताइपेईमा आम्दानीसम्बन्धी छलफल कार्यक्रम आयोजना गर्नेछ।
यस वर्ष अहिलेसम्म कम्पनीको सेयर मूल्य ४ प्रतिशतले बढेको छ। तर, ताइवानको समग्र सेयर बजार सूचकांक भने ४९ प्रतिशतले बढेकाले फक्सकनको सेयरको वृद्धि बजारको तुलनामा कमजोर देखिएको छ।
आम्दानीको विवरण सार्वजनिक हुनुअघि बिहीबार फक्सकनको सेयर मूल्य ०.८ प्रतिशतले घटेर बन्द भएको थियो। ताइवानको मुख्य सेयर बजार सूचकांक पनि २.६ प्रतिशतले घटेर बन्द भयो।