क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्यो नयाँ एआई चिपका संस्करण
काठमाडौं ।
अल्फाबेटको स्वामित्वमा रहेको गुगलले सोमबार आफ्नै टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) का दुई नयाँ संस्करण सार्वजनिक गरेको छ। तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्तासम्बन्धी चिप बजारमा एनभिडियाको प्रभुत्वलाई चुनौती दिने प्रयासस्वरूप गुगलले यस्तो कदम चालेको हो।
प्रारम्भिक कारोबारमा अल्फाबेटको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको थियो। अल्फाबेटका अनुसार, सन् २०२६ को सेप्टेम्बर त्रैमासिकको वित्तीय नतिजामा टीपीयू बिक्रीले उल्लेखनीय योगदान गरेको थियो। यस अवधिमा गुगल क्लाउडको आम्दानी दोब्बरभन्दा बढीले बढेर ३० अर्ब ७१ करोड डलर पुगेको थियो।
कम्पनीका अनुसार नयाँ चिपहरू ८टीएक्स र ८आई म्याक्स यसअघि नै उपलब्ध प्रोसेसरका परिमार्जित संस्करण हुन्। ग्राहकहरूको विशेष आवश्यकता पूरा गर्ने गरी तिनलाई पुनः डिजाइन गरिएको हो। ब्लुमबर्ग न्युजले यसबारे सोमबार नै पहिलोपटक समाचार प्रकाशि त गरेको थियो।
८टीएक्स विशेषगरी सरकारी निकाय र नियमनको दायरामा रहेका उद्योगहरूका कम्पनीलाई लक्षित गरी तयार गरिएको हो। यस्ता संस्थाहरूले प्रशोधन भइरहेका संवेदनशील तथ्यांक सुरक्षित राख्नुपर्ने आवश्यकता हुन्छ।
गुगलका अनुसार यस चिपमा कम्पनीको आफ्नै चिप प्रविधिसँगै एएमडीका प्रोसेसर प्रयोग गरिएको छ। यसले हार्डवेयरकै तहमा तथ्यांकलाई इन्क्रिप्ट गर्छ। अघिल्लो संस्करणको तुलनामा यसले कार्यसम्पादनमा लगभग कुनै सम्झौता नगरी दुई गुणासम्म बढी गति प्रदान गर्छ।
अल्फाबेटको क्लाउड व्यवसायको त्रैमासिक आम्दानी वृद्धिदर थप तीव्र भएको छ।