सामसङले भारतमा १,६०० जनालाई इलेक्ट्रोनिक्स सर्भिसिङसम्बन्धी तालिम दिने
काठमाडौं ।
सामसङ इन्डियाले भारतको सूक्ष्म, साना तथा मझौला उद्यम मन्त्रालय (एमएसएमई) सँग इलेक्ट्रोनिक्स उपकरणहरूको मर्मतसम्भार र सर्भिसिङसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्न ३ वर्षे सम्झौता गरेको छ।
यस कार्यक्रमअन्तर्गत पहिलो वर्ष १,६०० जनालाई तालिम दिइनेछ। उक्त तालिम देशभर रहेका १५ ओटा ‘एमएसएमई टेक्नोलोजी सेन्टर’ मार्फत प्रदान गरिनेछ।
यो व्यावसायिक तालिम पहल सामसङको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम ‘दोस्त सर्भिस’ को विस्तार हो, जुन सन् २०१४ देखि सञ्चालनमा छ।
सफल प्रशिक्षार्थीहरूले सामसङको सेवा सञ्जालभित्र तीन महिनाको ‘अन-द-जब’ (कार्यस्थलमा आधारित) इन्टर्नसिप अवधिको दौरान ‘डाइरेक्ट बेनिफिट ट्रान्सफर’ मार्फत मासिक १२,००० भारतीय रुपैयाँ भत्ता प्राप्त गर्ने बताईएको छ।
यस व्यावहारिक तालिममा मोबाइल फोन, ट्याब्लेट, स्मार्टवाच, टेलिभिजन, एयर कन्डिसनर, वासिङ मेसिन र प्रोफेसनल डिस्प्लेलगायत विभिन्न उत्पादनहरूको जडान, सेवा र मर्मतसम्बन्धी सीपहरू समावेश छन्।
महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ, साथै उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई उनीहरूको योग्यताका आधारमा पुरस्कृत गरिने बताईएको छ।