टिकटकलाई नेपालको पर्यटन र संस्कृतिलाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहन्छौं-मन्त्री डा. तिमिल्सिना

  • Technology Khabar | २० कार्तिक २०८३, शुक्रबार
टिकटकलाई नेपालको पर्यटन र संस्कृतिलाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहन्छौं-मन्त्री डा. तिमिल्सिना

काठमाडौं ।

सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘#VisitNepal’ अभियान सुरु गरेको छ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा अभियानको औपचारिक सुरुवात गरिएको हो।

अभियानमार्फत नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय गन्तव्यलाई टिकटकका माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ। सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने अभियानले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अभियानअन्तर्गत टिकटकले यूरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ। उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव टिकटकमार्फत विश्वभरका दर्शकमाझ साझा गरिरहेका छन्।

यसबाट नेपालका चर्चित पर्यटकीय स्थलसँगै कम प्रचारप्रसारमा रहेका गन्तव्यलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने टिकटकको अपेक्षा छ।

अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले छुट्टै ‘#VisitNepal’ ह्यासट्याग पेजसमेत सञ्चालनमा ल्याएको छ। नेपाल पर्यटन बोर्डले टिकटकको कोल्याब फिचर प्रयोग गरी नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग सहकार्य गर्नेछ। यसका साथै लोकप्रिय पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिम सञ्चालन गरेर विश्वभरका मानिसलाई भर्चुअल रूपमा नेपालको अनुभव गराउने योजना पनि अभियानमा समेटिएको छ।

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लेटफर्मले पर्यटकीय गन्तव्यबारे जानकारी लिने र यात्रा तय गर्ने तरिकामा परिवर्तन ल्याएको बताए।

उनले एउटा डिजिटल कथाले विश्वको अर्को कुनामा रहेको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्ने उल्लेख गर्दै टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहेको बताए।

टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले नेपालमा ठूलो पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै अभियानमार्फत त्यसलाई विश्वभरका दर्शकमाझ पुर्‍याउने उद्देश्य रहेको बताए।

उनका अनुसार यस सहकार्यले नेपाल भ्रमणका लागि पर्यटकलाई प्रेरित गर्नुका साथै नेपाली कन्टेन्ट क्रिएटरलाई अवसर प्रदान गर्न र साना व्यवसायलाई सहयोग पुर्‍याउन भूमिका खेल्नेछ।

टिकटक र नेपाल पर्यटन बोर्डबीचको यो सहकार्य नयाँ भने होइन। यसअघि दुवै पक्षको सहकार्यमा डिजिटल स्टोरीटेलिङ सीप विकाससम्बन्धी कार्यशाला आयोजना गरिएको थियो। उक्त कार्यशालाबाट ३०० भन्दा बढी नेपाली पर्यटन उद्यमी तथा कन्टेन्ट क्रिएटरले तालिम लिएका थिए।

नयाँ अभियानले सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र कन्टेन्ट क्रिएटर समुदायलाई जोड्दै नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको उपयोग विस्तार गर्ने अपेक्षा गरिएको बताइएको छ।

प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार