काठमाडौं ।
केही यूएसबी-सी केबल वाटरप्रुफ हुन्छन्, तर कुन केबल वाटरप्रुफ हो भनेर पहिचान गर्न जान्नुपर्छ। अमेजनलगायत अनलाइन स्टोरमा यस्ता केबल सजिलै उपलब्ध छन्।
इन्ग्याजेटका अनुसार पानीबाट कनेक्टरलाई जोगाउन यस्ता केबलमा विशेष सिल राखिएको हुन्छ। बजारमा मेल, फिमेल र एङ्गल्डलगायत विभिन्न प्रकारका केबल पाइन्छन्। तर के यी सिलहरूले वास्तवमै पानीबाट सुरक्षा दिन्छन्?
इन्टरनेसनल इलेक्ट्रोटेक्निकल कमिसन (आईईसी) ले आईईसी ६०५२९ मापदण्ड विकास गरेको छ। यो विश्वव्यापी रूपमा मान्यता प्राप्त इनग्रेस प्रोटेक्सन (आईपी) कोड हो। यसले यूएसबी-सी प्लगजस्ता उपकरणको बाहिरी भागले धुलो र पानीबाट कति सुरक्षा दिन सक्छ भन्ने देखाउँछ।
यस कोडमा पहिलो अंकले धुलोबाट प्राप्त हुने सुरक्षा जनाउँछ भने दोस्रो अंकले पानीबाट प्राप्त हुने सुरक्षा देखाउँछ। यो मापदण्डअनुसार वाटरप्रुफ यूएसबी-सी केबलमा IP67 वा IP68 रेटिङ हुनुपर्छ।
यस्ता केबल विशेष गरी उत्पादन उद्योग, निर्माण क्षेत्र, समुद्री क्षेत्र र विद्युतीय सवारीसाधन चार्जिङ प्रणालीजस्ता कठिन वातावरणमा प्रयोग गरिन्छ। अर्थात् पानी, मौसम वा दुर्घटनाको जोखिम हुने स्थानमा यस्ता केबल उपयोगी हुन्छन्।
केबल छनोट गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसको आईपी रेटिङ हो। यो कुरा स्मार्टफोनलगायत अन्य उपकरण छनोट गर्दा पनि लागू हुन्छ।
आईपी६७: यो रेटिङ भएको केबल पूर्ण रूपमा धुलोबाट सुरक्षित हुन्छ। यसलाई एक मिटर गहिरो पानीमा ३० मिनेटसम्म राख्दा पनि सुरक्षित रहन सक्छ।
आईपी६८: यो रेटिङ भएको केबल पनि पूर्ण रूपमा धुलोबाट सुरक्षित हुन्छ। यसलाई सामान्यतया एक मिटरभन्दा बढी गहिराइको पानीमा लामो समयसम्म डुबाएर राख्न सकिन्छ। यद्यपि, यसको क्षमता उत्पादकअनुसार फरक हुन सक्छ।
यूएसबीमा पानी पर्दा के के जोखिम हुन्छन्?
यूएसबी-सी मापदण्डले केबललाई पानीबाट सुरक्षित हुनुपर्ने व्यवस्था गरेको छैन। त्यसैले सामान्य केबलले पानीका केही छिटा सहन सके पनि त्यसको कुनै ग्यारेन्टी हुँदैन। पानीको सम्पर्कमा आउँदा विभिन्न जोखिम हुन सक्छन्।
यूएसबी-सी बहुउपयोगी, व्यापक रूपमा प्रयोग हुने र जटिल प्रविधि हो। यसको कनेक्टर खोलेर हेर्दा २४ वटा सम्पर्क बिन्दु (कन्ट्याक्ट) हुन्छन्। यी बिन्दु केबलभित्र रहेका डेटा वा पावर तारसँग जोडिन सक्छन्। यूएसबी-एमा भन्दा यसमा २० वटा बढी पिन हुन्छन्, जसले तीव्र गतिमा डाटा स्थानान्तरण गर्न सहयोग गर्छ।
कनेक्टरभित्र पानी पसेमा सर्ट सर्किट हुन सक्छ, जसले जोडिएको उपकरणमा क्षति पुर्याउन सक्छ। लामो समयसम्म चिस्यान रहिरहेमा सम्पर्क बिन्दुमा खिया लाग्न सक्छ। त्यस्तै, सर्ट सर्किट भएको भिजेको केबल तात्न सक्छ र आगलागीसमेत हुन सक्छ। वाटरप्रुफ केबल भए पनि भिजेको अवस्थामा कुनै पनि केबल उपकरणमा जोड्नु हुँदैन।
यूएसबी केबललाई पानीबाट जोगाउन सामान्यतया कनेक्टरको वरिपरि सिलिकन रबर सिल, ग्यास्केट वा लकिङ कलर प्रयोग गरिन्छ। यसले कनेक्टरभित्र पानी पस्न रोक्छ।
केही केबलमा थ्रेडेड बेयोनेट कपलिङ प्रयोग गरिएको हुन्छ। यसमा कलर कस्दा रबर सिल खुम्चिन्छ र पानी पस्न नसक्ने गरी कनेक्टर बन्द हुन्छ। लामो समयसम्म पानीको सम्पर्कमा रहने गरी बनाइएका केबलमा नियोप्रिनजस्ता बलिया कृत्रिम रबर प्रयोग हुन सक्छन्। रासायनिक पदार्थ वा सोल्भेन्टबाट पनि सुरक्षा आवश्यक पर्ने अवस्थामा फ्लोरोइलास्टोमर नामक अझ बलियो सामग्री प्रयोग गरिन्छ।
भिजेको केबल सुकेपछि फेरि प्रयोग गर्न सकिन्छ?
केबलका सम्पर्क बिन्दु अर्थात् कनेक्टरमा खिया लागेको छैन भने पूर्ण रूपमा सुकेपछि सामान्यतया त्यसलाई सुरक्षित रूपमा पुनः प्रयोग गर्न सकिन्छ।
केबल सुकाउन सबैभन्दा पहिले त्यसलाई उपकरणबाट छुट्याउनुपर्छ। त्यसपछि कनेक्टरको दुवै छेउ हल्लाएर भित्र रहेको पानी निकाल्नुपर्छ र २४ देखि ४८ घण्टासम्म सुक्न दिनुपर्छ।
हेयर ड्रायर प्रयोग गरेर केबल सुकाउने प्रयास गर्नु हुँदैन, किनकि तापक्रमले केबलमा क्षति पुर्याउन सक्छ। त्यस्तै, चामलमा राखेर सुकाउनु पनि उचित हुँदैन। चामलबाट निस्कने धुलो र साना कण कनेक्टरभित्र पस्न सक्छन्। सुकाएपछि प्रयोग गर्दा केबल तात्न थाल्यो भने त्यसलाई परिवर्तन गर्नुपर्छ।
एटलाभक्स, येल र औद्योगिक प्रयोजनका लागि बनाइने एल-कमजस्ता ब्रान्डका वाटरप्रुफ केबल राम्रा प्रविधिसम्बन्धी सामान पाइने पसल र अमेजनमा उपलब्ध छन्।
केबल छनोट गर्दा त्यसमा सामान्य वाटर रेजिस्टेन्ट (पानी प्रतिरोधी) लेखिएको मात्र नभई आधिकारिक आईपी रेटिङ रहेको सुनिश्चित गर्नुपर्छ। सामान्य वाटरप्रुफ केबल करिब १० डलरमा उपलब्ध हुन्छन् भने कठिन वातावरणमा प्रयोग गर्न बनाइएका अत्यन्त बलिया वाटरप्रुफ केबलको मूल्य यसको तुलनामा १० गुणासम्म बढी हुन सक्छ।
यस्तो केबल खरिद गर्दा त्यसको आधिकारिक आईपी रेटिङ जाँच गर्नुपर्छ। आईपी रेटिङ उल्लेख नभएको केबलले आवश्यक सुरक्षा प्रदान नगर्न सक्छ।
प्रकाशित: १७ कार्तिक २०८३, मंगलवार